काठमाडौं,साउन १३ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो वर्ष नागपञ्चमी र रक्षाबन्धन २७ वर्ष पछि एकै दिन परेको जनाएको छ ।
समितिका अनुसार साउन १३ गते शुक्रबार नागपञ्चमी र रक्षाबन्धन परेको जनाएको हो ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै यो वर्ष साउन २३ गते सोमबार साउन शुक्ल पूर्णिमाका दिन अर्धरात्रि पूर्व खण्डग्रास चन्द्र ग्रहण भएकाले सो दिन गरिने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन साउन १३ गते शुक्रबार गर्न सूचित गरेको छ ।
समितिका अनुसार यस अघि विक्रम संवत् १९६३, १९८२, २०२८ र २०४७ सालमा पनि साउन शुक्ल पूर्णिमाका दिन ग्रहण परेको हुनाले साउन शुक्ल पञ्चमी (नागपञ्चमी) का दिनमा नै उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन गरिएको थियो ।
समितिले स्वीकृत नगरेका केही पञ्चाङ्ग र विभिन्न सञ्चार माध्यममा यससम्बन्धी भ्रामक तथ्य तथा समाचार प्रकाशित भएको विज्ञप्ति मार्फत स्पष्ट पार्दै कुनै भ्रममा नपरी साउन १३ गते नै उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन गर्न सबैमा आग्रह समेत गरेको छ ।
नागपञ्चमीको महत्व
हिन्दु धर्ममा लेखिएअनुसार नाग (सर्प) लाई देवताको रुपमा पुजिन्छ, परापूर्व कालदेखि नै विभिन्न पूराण तथा धर्मग्रन्थ आदिमा नाग देवताको विशेष महत्व रहदै आएको पाइन्छ । भगवान शंकरजीको आभुषण होस् वा भगवान विष्णुजीको शय्या होस्, विभिन्न स्थानमा नागको स्वरुप र आकारप्रकार सचित्र देख्न पाइन्छ ।
पौराणिक कथन अनुसार नागपञ्चमी पर्व कसरी सुरु भयो रु भन्ने सम्बन्धमा पनि विभिन्न धार्मिक ग्रन्थहरुमा लेखिएका कुराहरुलाई आधार मान्दा राजा परीक्षितका छोरा जनमेजयले गरेको सर्पसत्र यज्ञ रोक्नलाई तक्षक नागकै भानिज आस्तिक र मनसादेवी सुपुत्रले अनुरोध गरेपछि सर्पयज्ञ रोकियो र सम्पूर्ण नागहरुको उद्धार भएको दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन भएकाले यो दिनदेखि नै नागपञ्चमी पर्व मनाउन थालिएको कुरा धेरै पुराणहरुमा उल्लेख भएको पाइन्छ ।
नागपञ्चमी पूजा र विधि
प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथि नागपञ्चमी हो । यो दिन बिहानै उठी, स्नान गरी नागको चित्रमा वा मूर्तिमा पूजा गर्नाले नागको भय हुँदैन । गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दही, दुबो, कुश, फूल, सिन्दुर, चन्दन आदिले नागको पूजा गरी, धूप दीप, नैवैद्य सहित प्रार्थना गरी घरमा वा घरको ढोकामा टाँस्नाले कालसर्प आदि गरिएको योग पनि नष्ट हुन्छ ।
प्रार्थना मन्त्र
आस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणि ।
एह्येहि मनसे देवी नागमातर्नमस्तुते ।।
अनन्तो वासुकी पद्मो महापद्मञ्च तक्षकः ।
कुलीरः कर्कट शंखश्चाष्टौ नागाः प्रकीर्तिता ।।
भावार्थ स् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीक, कर्कोटक,
शंखचूड, यी आठ नाग सहित आस्तिक मुनि, नागमाता मनसादेवीलाई नमस्कार गर्दछु ।
जनै र रक्षाबन्धनको महत्व
रक्षा बन्धन हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा पवित्र चाड हो । यो चाड श्रावण शुक्ल पूर्णिमाको दिनमा हिन्दु धर्मावलम्बीहरुले मनाउने गर्दछन् । बिशेषतः ब्रामह्ण क्षेत्री जातिका वर्तवन्ध गरेका अथवा जनै लगाउनेहरू यस दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन् । तागाधारी (जनैधारी) हरुले यस दिन बर्षभरीका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राख्ने गर्दछन् ।
यस दिन नेपालमा ब्रामह्णहरू नुहाई–धुवाई गरेर पूजा पाठ गरि सके पछि पवित्र धागो, जसलाई रक्षा बन्धन भनिन्छ, त्यसलाई बोकेर गाँउ गाँउ गएर सबै जनालाई रक्षा बन्धन बाँधेर टिका लगाईदिने गर्छन । त्यसको बदलामा मान्छेहरूले पुरोहित, ज्वाई, भानिज र बामह्णहरुलाई रूपयाँ पैसा दिने गर्छन ।
पौराणिक कथा
पौराणिक कथा अनुसार देवराज इन्द्र र दैत्यराजबीच १२ वर्षसम्म भयकंर युद्ध चलेको थियो । यस युद्धमा असुरहरुले देवताहरुमाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कार विहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्र बांच्नु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसंग अन्तिम युद्ध गर्ने संकल्प लिएका थिए । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस् भनी रक्षाको विधान श्रावण मासको पूर्णिमाको शुभ मूहूर्तमा इन्द्रलाई रक्षाको बन्धन बांध्दै निम्न मन्त्र जप्ने गर्दछन् ।
येन बद्धो बली राजा दानवेन्द्रो महाबलः ।
तेन मन्त्रेण बहनामि रक्षे मा चल मा चल ।।