दिवस कति मनायौँ, खै उज्यालो कहाँ छ ?
विवस मन अध्यारा, वेदना – दैन्यता छ ।।
अझ पनि श्रम गर्ने, खै त उद्योगशाला ।
दिनदिन परदेशी, बन्नु पर्दैछ हाला ।। १।।
गरम – नरम बोली, काम केही हुँदैन ।
जनमन कति रुन्छन्, शीर्षलाइ छुदैन ।।
सररर कति मीठो, घोषणा – पत्र – भाषा ।
महगी र् घुसखोरी, राज्य नै भो तमासा ।। २।।
जतिजति कवि लेख्छन् , व्यन्जना काव्य तीखा ।
उतिउति अगुवाका , मात्र जुम्रा र लीखा ।।
दिवस किन मनायौ, के छ औचित्य त्यस्को ।
जननयन सबैका, आशुले भन्छ यस्तो ?।।३।।
धन जन यशशाली, मात्र नेता भए’छि ।
‘दिवस’ विवस बन्छन्, लोकतन्त्रै मरे’छि ।।
किन दिवस मनायौ ? के भयो क्रान्ति हाम्रो ? ।
गुन अब जनता हो, रात उस्तै नराम्रो ।। ४।।
धनपति शव शीर्षै , तुच्छ — सामन्त – वृत्ति ।
वचन – मधुर धेरै , काम श्रृङ्गाल – वृत्ति ।।
दिवस तब मनाऔ ,हुन्छ जो नव्य क्रान्ति ।
विवस मन — मुटुमा , यो त हो अन्ध भ्रान्ति ।। ५।।
कति दिन गफ सुन्ने , भोटदाता विचार ।
गलत लत लिएका , स्याल जम्मै थचार ।।
अझ पनि खल – भेडा , मात्र बाख्रा र बोका –
नबन , मत खसाले , योग्यले खोल्छ ढोका ।। ६।।
बद्रीप्रसाद दाहाल
नलिकण्ठ न.पा. धादिङबेसी ।
प्रकाशित मिति २०७४ बैशाख १०