प्रहरीले भीरमा लगेर गोली हान्यो
२०५५ साल जेठ १८ गते बेलुकी प्रहरीको गिरफ्ता्रीमा परे रामबहादुर भण्डारी । उनलाई १९ गते बिहान करिव ४ बजे ज्यामरूङ-८ गोलाभन्ञ्ज्याङमा गोली प्रहार गरी भीरबाट लडाइ प्रहरीले अब मर्छ भनी छोड्यो, तर संयोगवश भण्डारी बाँचे । बिहान स्थानीयले घाइते अवस्थामा भेटेपछी उनलाई जिल्ला अस्पताल हुँदै शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइयो । प्रहरीले गोलि हानी मर्यो भनी छोडेका रामबहादुर भण्डारी एवम जनयुद्धका ज्युँदा सहिद कमरेड बलबीर माओवादी केन्द्र महाधिवेशन आयोजक समिती सदस्य छन् ।
को हुन् कमरेड बलबीर ?
२०१५ कार्तिक १० मा जन्मिएका रामबहादुर भण्डारी धादिङका पुराना माओवादी नेता हुन् । २०३८ साल साउन ७ गते नेकपा चौथो महाधिवेशनमा संगठित भण्डारी मशाल हुँदै जनयुद्ध प्रारम्भदेखि नै भूमिगत भएका हुन् । उनी जनयुद्धका क्रममा २०५५ साल जेठ १८ गते गिरफ्तार भए, १९ गते बिहान करिव ४ बजे ज्यामरूङ-८ गोलाभन्ञ्ज्याङमा गोली प्रहार गरी भीरबाट लडाइ प्रहरीले अब मर्छ भनी छोड्यो । स्थानीयको सहयोगमा जिल्ला अस्पताल धादिङ हुँदै शिक्षण अस्पताल पुर्याइएका उनलाई पुन: नेपाल प्रहरीले उपचारकै क्रममा पक्राउ गर्यो । किलो शेरा-२ अपरेशनको क्रममा गोली हानी मरेको ठानिएका भण्डारीलाई ४९ दिनपछि पुन अस्पतालबाटै गिरफ्तार गरिएको हो । भण्डारी हाल नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समिति सदस्य छन् । माओवादी केन्द्रको भर्खर मात्र सम्पन्न धादिङ चौथो जिल्ला सम्मेलनबाट उपाध्यक्षमा समेत निर्वाचित भएका छन् ।
३८ महिना लामो जेल जीवन
शिक्षण अस्पतालबाट गिरफ्तारीमा परेका भण्डारीले माओवादीले सञ्चालन गरेको दस वर्षे सशस्त्र जनयुद्धको क्रममा धादिङ, भरतपुर, भैरहवा, भद्रगोल कारागार, केन्द्रीय कारागार गरी ३८ महिना ७ दिन जेल जीवन बिताए भण्डारीले । नेपाल बैंक लिमिटेडको खहरे उपशाखाको २० लाख लुटेको अभियोगमा उनलाई गिरफ्तार गरि जेल हालिएको थियो ।
दस बर्षे जनयुद्धको अवधिमा उनी जसरी तीन वर्षभन्दा बढी जेल जीवन बिताउने कमै माओवादी छन् । २०६२ मा धादिङ जिल्ला जनसरकार प्रमूख रहेका रामबहादुर भण्डारी उर्फ कमरेड बलबिरका जनयुद्धमा आफ्ना दुई सुपुत्र सुवास र सुचन्द्रलाई राज्यले बेपत्ता बनायो । २०५८ मा बेपत्ता दुई सन्तानको वास्तविक तथ्य शान्ति प्रकृयाको १० वर्षपछी पनि पाउन सकेका छैनन् भण्डारी परिवारले । यति सम्मकी उनकै पार्टी अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ मुलुकको दुई-दुई पटक प्रधानमन्त्री बने, अर्का माओवादी बरिष्ठ नेता डा बाबुराम भट्टराईसमेत नेपालको प्रधानमन्त्री भए ।
किन लागे भण्डारी माओवादी केन्द्रतिर ?
बर्ग बिभाजित समाजमा असमानता तथा बिभेदहरू छन् । आफूलाई सर्वहाराबर्गको यौटा कित्तामा उभिएको मात्र मान्ने भण्डारी समाजका तिनै असमानता तथा बिभेदहरूको अन्त्यका लागि होमिएको बताउँछन् । भन्छन्- “हामी व्यक्तिगत रूपमा केही पाउनका लागि लागेको होइन ।”
समान बिचार, राजनीति, सिद्धान्त भएकाहरू यौटा कित्तामा उभिन्छन् । उनी भन्छन् -`हामी मालेमावाद मान्नेहरू पनि समाजवाद हुँदै साम्यवादमा पुग्नका लागि, बर्गबिहीन समाज निर्माणका लागि राजनीतिमा लागेका हौं । द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद र बर्गसंघर्षमा बिश्वास गर्नेहरू एक हुनुपर्छ ।´ उनी अगाडि थप्छन्- `सर्वहारा बर्ग एक भएर बर्गदुश्मन सित घृणा, आक्रोश र बदला लिनुपर्छ ।´
तर माओवादी आन्दोलनबाट बाइप्रोडक्ट पनि उत्पादन भएको छ । यस्तो हुनुलाई स्वाभाविक मान्दछन् भण्डारी । हाम्रो सामाजिक परिवेशले सबै कुरालाई निर्देशित गर्ने उनको तर्क छ ।
हामीभित्र यौटा बर्ग-चिन्तन पैदा हुनुपर्ने र सोही बर्गीय चिन्तनकै आधारमा राजनीती अघि बढ्नुपर्नेमा उनको जोड छ । भन्छन्- `पूँजिवाद, अमेरिकी साम्राज्यवाद र भारतीय बिस्तारवादले छरेका भ्रमहरू चिर्न मालेमावादमा विस्वास गर्नेहरू बिभाजित हैन, एकतावद्ध हुनैपर्छ । तर अफसोच ! हाम्रो माओवादी आन्दोलन बिभाजित मात्र हैन, चिराचिरा जस्तै बनेको छ ।´ माओवादी आन्दोलनमा आएका फुट, बिभाजन्लाई व्यक्तिगत टकरावदेखि साम्राज्यवाद, बिस्तारवाद र दलाल पुँजिवादलाई खुशि पार्ने कार्यका रूपमा अर्थ्याउँछन् । मोहन बैद्यदेखि नेत्रबिक्रम चन्द , बाबुराम भट्टराई बर्गहित बिपरित लागेको आरोप उनको छ ।
फुटाउँ र राज गरौं भनेर बर्ग-दुश्मनहरू लागिरहेका छन् । हामीहरूले उनीहरूलाई खुशी बनाएर आत्मरति लिनुहुन्न । आफ्नो बर्गको हितबिपरित काम गर्नु भनेको आफ्नो खुट्टामा आफैंले बञ्चरो हान्नु हो । छुट्टाछुट्टै माओवादी तथा गैर माओवादी पार्टी खोलेर नेता बन्न पुगेकालाई बर्गदुश्मनलाई सघाउ पुर्याएको उनको आरोप छ । यसैले पनि भण्डारी पुरानै ठाउँमा उभिए बरू ।
पार्टीले गरेन सही मूल्यांकन, गुटवन्दी र चाकडी मौलायो
माओवादी केन्द्रदेखि विप्लव नेतृत्वको नेकपा (माओवादी) सम्मले पार्टीको जिम्मेवारी सही मानिसलाई सही ठाउँमा दिएन । पार्टीको जिम्मेवारी भनेको नै जनताको नेतृत्व हो । जेष्ठता, श्रेष्ठता, त्याग, कृयाशिलता, निरन्तरता जिम्मेवारी तथा नेतृत्व प्राप्तिका आधार हुन् । यो आन्दोलनको आवश्यकता पनि हो । यो आधारमा थोरै मात्र गडबडी भए पार्टी लक्ष्यमा चुक्छ ।
रामबहादुर भण्डारीको परिवारले त्यो पूरा गरेको छ सायद । आन्दोलनमा आफ्ना होनहार दुई सपूत बेपत्ता भएकै हुन्, आन्दोलनकै क्रममा पार्टी अनुशासनमै रहेर जिम्मेवारी बहन गरेका पनि हुँदैहुन् । जनयुद्धका क्रममा पार्टी गोपनियता कायम राख्न छात्तिमा गोलि थापेर बाँचेको जिउँदो ईतिहास सामुन्ने छ । यस्तो अवस्था कतै छैन कि कमरेड बलवीरलाई घटुवा गर्नु परोस् ! बरु दुश्मनका यातना गृह, हिरासत भित्र पार्टी गोपनियता खोल्नेहरूलाई माओवादी केन्द्रले पुरस्कृत गर्यो । पार्टीको महत्त्वपूर्ण जिम्मेवारी दियो । जेष्ठता, श्रेष्ठताको पनि मूल्य भएन ।
रामबहादुर भण्डारी ती मानिस हुन् जो पुष्पबिक्रम मल्ल पार्टी सदस्य हुँदा इलाका सेक्रेटरी थिए । भण्डारी भन्दा जुनियरहरू हाल पार्टी स्थायी सदस्य छन्, पार्टी गोपनियता खोल्ने, सेना एवम् प्रहरीलाई नेतृत्व बसेका सेल्टर देखाउँदै हिड्ने उपल्लो जिम्मेवारीमा छन् । कता-कता भण्डारीलाई यस्तो देख्दा नमीठो लाग्छ ।
पार्टीमा चरम चाकडीवाद, गुटवन्दी चलेको बुझाइ छ । कमरेड बलवीर भन्छन् – “पार्टी जनताको नेतृत्वका लागि हो । अहिले चाकडी, गुटबन्दीले पार्टी थिलथिलो जस्तो भएको छ । यसले अशल मान्छे पछि परेको मात्र छैन, यसले प्रतिक्रान्तिलाई पनि सेवा पुर्याएको छ । बर्ग-दुश्मनलाई सहयोग गरेको छ ।” अगाडी भन्छन्- “दुश्मनसित त जसरी पनि बदला लिनुपर्छ । पार्टी भित्रका कमिकमजोरी सच्याएर बर्ग संघर्षलाई उचाईमा पुर्याउन सकिन्छ ।”
तर के माओवादीहरू बर्ग संघर्षलाई उचाइमा पुर्याउन आफ्ना कमिकमजोरी सच्याउन तयार होलान् ? नागरीकमेलबाट साभार