मृत्युलाई हत्केलामा बोकेर
कति बाॅच्छौ पासाङ
आऊ ! अलि पर
घर बनाऊ ।
आफ्नै बाजेको हड्डी बजाई
कति बाॅच्छौ पेमा
आऊ ! असुन्दर
गाउॅ छाडौ ।
उहिले साहुॅ महाजनको
अहिले राज्यशत्ताको
हेला, विभेद सहेर
कति बाच्छौ म्हेन्साङ
आऊ ! दुर्गम गाउॅ
छाडेर भागौ ।
अलि अघि
मेरो प्यारो गाउॅ लेखे
कवितामा
सौन्दर्य कलाको कुरा गरे
कथामा
उपन्यासको कथा उन्दै
तर्पङ्गे लपाङ चरङ्ने पुगे
दु:ख छाडी
सुख खोजे
साच्चै आश जगाउथे
साच्चै
सबैलाई जम्मा पारेर
म चिच्याउथे
पैसा लुक्ने झाडी झाडी
संस्कार संस्कृतिको खानी
यही छ
यही न हो
यही नै हो
ल्हप्सङकर्पो ।
थुक्क मर्च
समाचार सुने
गाडी दुर्घटनाको
थुक्क च्याङ्बा
खबर सुने हाताहातीको
थुक्क अपग्रेन
पानी बिनाको
हाहाकार जीवन !
यहाॅ सप्रदैन जीवन
यहाॅ उम्रिदैन ज्ञान
पक्का हो
पाउदैन सम्मान
त्यसैले
आऊ पासाङ
जाऊ !
यहाॅ त मगज
खच्मचिएकाहरूको भीड छ
सीप, क्षमता र दक्षताहरू लखाट्ने
बेनियमकाहरू भर्ती गर्ने
खोस्टे र खोयाबिर्के
राजनीति गर्नेहरू छन्
दुई दिनको डिसिएम दिए
माउ पार्टी त्याग्नेहरू छन्
बराबरी भाग लगाएर
खानेहरू बस्छन्
रोग, भोक र शोकमा
कमिसन खानेहरू
हिय ! हाय !!
के कुरा गर्नु
दिन दहाडै मान्छे काटी
निस्फिक्री घुम्नेहरू छन्
समानुपातमा टिका थापेकै दिनदेखि
काठमाडौको वकालत गर्ने र
पहिचानको खोजमा
भाजो हाल्नेहरू छन्
त्यसैले
जाऊ न्हप्सङ
धेरै टाढा
जन्मेको ठाउॅ
देखेर
आॅशु नखस्ने गरी जाऊ ।
निधारको मुजा
खज्मजाएर
जम्मा गरेको रकम
चोर्नेहरू
चराउदैका भेडाबाख्रा
गिड्नेहरू
मरूभूमी र युद्धको कमाइमा
गिद्दे नजर लाउनेहरूदेखि
भागौ सोल्टी
भागौ म्याहोन !
अझै अझै
आफ्नै रक्तपिपासुहरूको
भजनमण्डली देखेर
तिम्रै बाजे ठगेर
तिम्रै बज्यै पछारेर
खोसेर लुटेर
जम्मा गरेको
केही रूपिया दिदा
आकाश खसेको
हल्लिखल्ली गर्ने बोकाहरू देखेर
कुकुर नियति
याद आयो ।
रङ्क र ताच्यङ्प
गिड्न तम्सेकाहरूको
पिछलग्गु भएको हेरी
म निर्वस्त्र भए
लज्जित भए
किनकी यहाॅ
हाम्रो हैन
पराइको इतिहास पढाइन्छ
चर्चा उनीहरूकै हुन्छ
हाम्रा दामन, सेक्के, काजीमान
छेज्यु, तुले र रख्लीहरूको कहानी
टाफी गाडिए झै
गाडीदिएको छ
तब
हामीमा भ्रम छ
म मा भय छ
यहाॅ बसे म पनि
दफनाइन्छ जिउदै
सिध्यान्छ क्यारियर
म बिल्कुल भिन्न छु
कुनै बस वा जीप
एक्सीडेन्टमा पर्छु
त्यसैले ङ्हेमा
चलु ! टाढा टाढा
विभेद नभएको ठाउॅ
अत्याचार नभएको ठाउॅ
दुर्घटना नहुने ठाउॅ ।
गोपाल फ्युबा तामाङ