गोपाल फ्युवा तामाङ
पल्लो डाॅडामा बसेर
जब
वल्लो डाॅडा नियाल्छु
रगताम्मे स्थिर
पहाड ठिङ्ग देख्छु
तामाङ आखेहरूको
रगतमासी मासिएर
ठडिएको
विशाल महल देख्छु
त्यसबेला
उनको कङ्लिङ घोटेर
खपडा फोडेर
आॅखा निकालेर
छातीको खोपिल्टामा
धिप धिप बल्ने
दियो बाल्न मन लाग्छ
फिला र पाखुरामा
बोसोले बालेर
दिपावली गर्न मन लाग्छ
मेरो आखेलाई पिटिएझै
मेरो आखेलाई पिटाएझै
मेरो आखेलाई लखाटेझै
नशा सुक्ने गरी
दम फुल्ने गरी
पैताला ताछेर
घिच्रोबाट रगत बगाई
रिङ्नेको नगरमा
नेत्रावतिको वगरमा
हिडाउन मन लाग्छ
दाम्लामा बाॅधी
घिसार्न मन लाग्छ
बुटले हानी हानी
पछार्न मन लाग्छ
य्हावेङ आफैमा रातो
डपजोङ आफैमा सुनसान
गोम्बोङजोङको भग्न
दरवार देख्दा
ज्यरसेतमा गिडिएझै
टाउको पसारी
फलामको तगारो
धुपीको किल्ला र
तीन ढुङ्गा खाप्ट्याई
सदाको लागि
उसको कानुनबाट
बाहिर बस्न मन लाग्छ ।
नासिएको इतिहास
भत्काएको गुम्बा र कुङ्कर
ग्युलम्हाने र छ्युर्तेन
सिध्याएको वंशवृक्ष
सब सम्झेर
सब ओकलेर
सब निकालेर
ऑखा फुटाएर
मांशपेशीका
पत्र पत्र काट्न मन लाग्छ ।
अचेल
सामञ्जस्यता
मेलमिलाप
भाइचारा र
मानव अधिकार
सम्झेर स्थिर छु
उम्लिएको रगत
विस्तारै सेलाउदैछु
साच्ची
रिस, आवेग र
वेदनाको इतिहास खोतल्दा
हड्डी घोटेर
रगतमा
गिदी मिसाइ
पिइदिन मन लाग्छ
क्रुद्ध मन लिएर
इतिहासका पाना पाना च्याती
नयाॅ इतिहास लेख्न मन लाग्छ
हल्लीखल्ली गर्न मन लाग्छ ।
प्रकाशित मिति २०७३ मंसि २९ गते