नेपाल–जापानबीच मैत्रीपूर्ण खेल शनिबार

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर ३, २०७३

धादिङ मंसिर ३-

natioanl-team-nepali

नेपाल–जापान कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेश गरेका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोली र जापानबाट आएको एक टोली ‘जापानका साथीहरु’ बीच शनिबार यहाँ ‘च्यारिटी’ फुटबल खेल हुने भएको छ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा हुने खेलमा भर्खरै मलेसियामा एएफसी सोलिडारिटी कप जितेर आएको नेपाली टोलीले जे लिगमा खेल्ने तथा विश्वभर व्यावसायिक फुटबल खेल्ने जापानी खेलाडीको सामना गर्नेछन्। तीमध्ये टोडा काजुयुकी सन् २००२ को विश्वकपमा जापानका तर्फबाट तथा अङ्ग्रेजी क्लब टोटेनह्याम हटस्परबाट व्यावसायिक फुटबल खेलेका थिए।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक ग्योतोकु कोजीले आफ्नो टोली दबाबका बीच मैदानमा उत्रिए पनि जितकै लागि खेल्ने बताए। उनले भने, “हाम्रो टोलीका केही खेलाडी घाइते भए पनि हामी जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छौंँ । हामीले विदेशमा भर्खरै उपाधि जितेका छौं, देशमा खेल्दा पनि त्यही दोहो¥याउने छौं ।”

टोलीको प्रशिक्षकको जिम्मेवारी समेत लिएका खेलाडी काजुयुकीले आफूहरु जित्नका लागि नेपाल आएको बताउँदै भने, “मैले भर्खरै सम्पन्न सोलिडारिटी कप अन्तर्गत नेपालले ब्रुनाई र लाओससँग खेलेको खेल हेरेंँ । त्यसैले उनीहरु (नेपाल)सँग आमनेसामने हुँन हामीले राम्रो तयारी गरेका छौंँ ।” उनले वर्तमान नेपाली प्रशिक्षक रहेका जापानी कोजी आफ्नो युवाकालको प्रशिक्षक रहेकाले उनको टोलीसँग खेल्न उत्साहित रहेको बताए।

नेपाली टोलीका कप्तान अनिल गुरुङले थकानका बीच पनि आफ्नो टोली जापानी टोलीसँग प्रतिस्पर्धा गर्न तयार रहेको बताए। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा अपराह्न २ बजे खेल सुरु हुनेछ। रासस