धादिङ कात्तिक २९-
सहमतिमा संविधान संशोधन विधेयक आउने सम्भावना क्षीण बन्दै गएको छ । सरकारले कात्तिक मसान्तभित्र सहमतिमा संविधान संशोधन विधेयक दर्ता गर्ने बताउँदै आए पनि प्रमुख तीन दलबीच कुरो मिल्न सकेको छैन ।
सहमति जुटाउन शनिबारका लागि बोलाइएको तीन दलको बैठकसमेत बस्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार संशोधन प्रस्ताव तयार भएको जानकारी दिँदै सहमतिमै कात्तिक मसान्तभित्र संसदमा दर्ता हुने बताएका थिए ।
तीन दलको बैठक बस्न नसके पनि प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । अब तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठक आज (सोमबार) बोलाउने तयारी छ । तर, प्रमुख प्रतिपक्षी एमालेले भने संविधान संशोधन विधेयकमा सहमति गर्ने सम्भावना देखिएको छैन ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अहिलेसम्मको अवस्थाको अध्ययन गर्दा संविधान संशोधन प्रस्तावमा सहमतिको सम्भावना नदेखेको बताए । ‘अध्यक्षसँग कुनै कुरो भएको भए मलाई थाहा भएन नत्र यसमा सहमति भएको मलाई थाहा छैन,’ नेम्वाङले भने ।
प्रधानमन्त्री दाहालले कांग्रेस, एमालेसँग सहमति गरेर संविधान संशोधन विधेयक ल्याउन निकै प्रयास गरेका छन् । सोमबारको बैठकमा सहमति हुने संकेत नदेखिए एकलौटी रूपमै संशोधन दर्ता गराउने सरकारको तयारी छ । संशोधनका विषयमा आइतबारको मन्त्रिपरिषद् बैठकमा समेत छलफल भएको थियो ।
मन्त्रिपरिषद्बाट स्वीकृत गराई संविधान संशोधन विधेयक आइतबार नै कानुन मन्त्रालयमा पठाउने प्रधानमन्त्री दाहालको तयारी थियो । मन्त्रिपरिषद्ले संविधान संशोधन विधेयकलाई स्वीकृत गरेपछि त्यसलाई कानुन मन्त्रालयमा पठाउनुपर्दछ । कानुन मन्त्रालयले मस्यौदालाई अन्तिम रूप दिएपछि त्यसलाई संसदमा दर्ता गरिन्छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले एकपटक तीन दलको बैठक बसेपछि मात्रै संशोधन विधेयक कसरी र कहिले दर्ता गर्ने निर्णय हुने बताए । –राजधानी दैनिकबाट