नेपालले आज लाओससँग फाइनल प्रवेशका लागि भिडदै

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक २७, २०७३

धादिङ कात्तिक २७-

natioanl-team-nepali

एएफसी सोलिडारिटी कपमा आज नेपालले फाइनल प्रवेशका लागि लाओससँग भिडदै छ । खेल नेपाली समय अनुसार आज दिउँसो सवा २ बजे हुनेछ  । ब्रुनाईलाई ३–० गोलले हराउँदै उत्कृष्ट लयमा फर्किएको नेपाली फुटबल टोली आज उच्च मनोवलका साथ मैदानमा उत्रदै छ ।
यो खेलमा जित हात पारे एकै वर्ष नेपाली फुटबलले लगातार तीनवटा प्रतियोगिताको फाइनल पुग्ने इतिहास रच्ने छ। उमेर समूहको प्रतियोगिता भएपनि यसै वर्ष नेपालले बङ्गबन्धु गोल्डकप र १२ औं दक्षिण एसियाली खेलकुदतर्फ फुटबलमा स्वर्ण जितेको थियो। यी दुवै प्रतियोगिता जित्दा हाल राष्ट्रिय टोलीमा रहेका प्रायस् सबै खेलाडी टोलीमा थिए।त्यसैले पनि नेपाली टोलीको मनोबल माथि रहेको छ।
नेपाल र लाओसबीच ६ महिनाअघि भियतनाममा भएको मैत्रिपूर्ण खेल १–१ को बराबरीमा टुङ्गिएको थियो। त्यतिबेला ७८ मिनेटमा विशाल राईको गोलका कारण नेपालले अग्रता बनाए पनि त्यसको एक मिनेट भित्रै लाओसका पाथाना सिभिलेले गोल फर्काएका थिए।
लाओसको सबैभन्दा बलियो पक्ष भनेको उनीहरू कर्नरतर्फ मानिने चौडा क्षेत्रको भरपुर उपयोग गर्न सक्छन्। फेरि ६ महिनाअघि नेपालसँग खेलेको टोलीमा भन्दा अहिलेको टोलीमा युवा खेलाडीको वर्चश्व छ।यही प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यु’ गरेका १९ वर्षिय स्ट्राइकर काम्खा सोन्थानालेजस्ता प्रतिभाशाली खेलाडी नेपालका लागि चुनौति बन्नेछन्। काम्खाले श्रीलंका र मकाउविरुद्ध गरी दुई गोल गरेका छन्।
प्रतियोगितामा मकाउसँग ४–१ ले पराजित भएपछि लाओसले उत्कृष्ट पुनरागमन गरेको छ। उसले समूह ‘बी’ चरणको खेलमा श्रीलंकालाई २–१ र अन्तिम खेलमा मंगोलियालाई ३–० ले पराजित गर्दै समूह उपबिजेताको रुपमा सेमिफाइनलको यात्रा तय गरेको हो।
लाओसले आफ्नो तीनवटै खेलमा विपक्षी टोलीविरूद्ध गोल गरेको छ, त्यसैले शनिबारको खेल नेपाली डिफेन्डरका लागि पनि सोचेजति सहज हुने छैन। लाओसले कूल ३ खेलमा ६ गोल गरेको छ भने ५ गोल पनि खाएको छ।
जापानी प्रशिक्षक ग्योटोको कोजीको नेपाल आगमनसँगै पहिलो मैत्रीपूर्ण खेल लाओससँग भएको थियो। त्यसैले प्रतिद्वन्द्वीको विषयमा उनी जानकार छन्।
टिमोर लेस्टेविरूद्ध समूह चरणको पहिलो खेल गोलरहित बराबरी खेलेपछि नेपाली टोलीको खेल्ने शैली परिवर्तन गरेका कोजी दोस्रो खेलमा ब्रुनाईलाई ३–० ले हराएपछि निकै उत्साही छन्। शनिबार पनि उनले ब्रुनाईविरूद्धजस्तै तीन स्ट्राइकरलाई नै मैदानमा उतार्ने छन्। ब्रुनाईविरूद्धको खेलमा कोजीले स्ट्राइकर त्रय नवयुग श्रेष्ठ, विमल घर्तीमगर र भरत खवासलाई एकैपल्ट मैदानमा उतारेका थिए। जुन योजना सफल भएको थियो। त्यो खेलमा तीन वटै स्ट्राइकरले गोल गरेपछि नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो।
‘सबै केटाहरू कन्डिसनमा छन्। पुरानै टिम उतार्ने विषयमा बिहान निर्णय हुनेछ,’ कोजीको सहायकका रुपमा रहेका नेपालका पूर्व कप्तान तथा प्रशिक्षक राजुकाजी शाक्यले बताए।
लाओसका प्रशिक्षक भालाकोन फोमखाक्डेले विगतको तुलनामा नेपालीको टिम अहिले सशक्त देखिएको स्वीकार गरेका छन्। उनले आफूभन्दा अगाडि नै नेपालले समूह चरणको खेल समाप्त गरेको फाइदा पनि विपक्षी टोलीलाई नै हुने बताएका छन्।
खेल सुरु हुनुअघि नेपाल र लाओसको दाबी आ–आफ्नै छ। तर, आजको खेलमा बर्षा सबैभन्दा ठूलो तगारोका रुपमा देखा पर्नसक्छ। मलेसियाको कोचिङमा हिजो ठूलो हावा हुन्डरीका बीच पानी परेको थियो। जसका कारण नेपालले साँझको अभ्यास गर्न सकेन्। यदि आज बर्षाले खेल प्रभावित पार्यो भने त्यसको फाइदा लाओसलाई हुन सक्ने सम्भावनालाई टार्न सकिन्न। किनभने नेपालले वर्षाले प्रभावित प्रतियोगिताको पहिलो खेलमा सबैभन्दा कमजोर आँकिएको टिमोरविरूद्ध गोलरहित बराबरी खेलेको थियो।

नेपाली प्रशिक्षक कोजीले केही खेलाडीमा थकान देखिएपनि आफू खेल जित्नेमा ढुक्क रहेको बताएका छन्।