ओलीसँग प्रधानमन्त्रीको प्रस्ताव : म अघि बढेँ, साथ दिनुहोस्

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक २६, २०७३

धादिङ कात्तिक २६-

prachanda-and-kp-oli

प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँगको भेटमा संविधान संशोधनमा साथ दिन आग्रह गरेका छन् । एमालेलाई समेत मान्य हुने गरी प्रस्ताव तयार पार्ने भन्दै प्रचण्डले साथ दिन आग्रह गरेका थिए । ओलीसँग प्रचण्डले भने, ‘म अब संविधान संशोधनमा अगाडि बढ्न लागेँ, तपाईंको सहयोग चाहियो ।’ जवाफमा ओलीले प्रस्तावको अन्तर्वस्तुका आधारमा मात्र एमालेले आफ्नो धारणा बनाउने बताएका थिए। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

भेटपछि ओलीले सञ्चारकर्मीसँग भने, ‘संविधान संशोधन केमा, केका लागि किन गर्ने ? थाहा पाएको छैन ।’ माओवादी केन्द्रका नेता अनन्तका अनुसार एमाले पनि संविधान संशोधनमा सकारात्मक छ । ‘प्रदेशको सीमांकनसम्बन्धी संशोधन आओस् भन्नेमा एमाले पनि देखिएको छ,’ अनन्तले भने, ‘तर, संघीय आयोग र त्यसको टिओआरका विषयमा के–कस्तो हुने भन्नेमा एमालेसँग छलफल चलेको छ ।’ ओलीका सहयोगी राजेश बज्राचार्यले संविधान संशोधनबारे प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भएको बताए । जायज विषयमा प्रस्ताव आउँदा आफ्नोतर्फबाट सहमति हुने अन्यथा एमालेलाई स्वीकार्य नहुने धारणा ओलीले राखेको पनि बज्राचार्यको भनाइ छ ।

सरकारले प्रदेशको सीमांकन, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वलगायतका विषयमा संविधान संशोधनको तयारी गरेको छ। स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले ओलीसँग पूर्वका झापा, मोरङ, सुनसरी र पश्चिमका कञ्चनपुर तथा कैलाली जिल्लालाई संघीय आयोगमार्फत टुंग्याउने प्रस्ताव गरेका थिए ।

त्यस्तै, ५ नम्बर प्रदेशका तीन पहाडी जिल्ला गुल्मी, पाल्पा र अर्घाखाँचीलाई विगतमा कांग्रेस–एमालेकै नौबुँदे प्रस्तावमा समेटिएका आधारमा भए पनि हेरफेर गरेर जान सकिने प्रचण्डको भनाइ थियो । भाषाका विषय भाषा आयोगमार्फत टुंग्याउने, नागरिकता र राष्ट्रिय सभाको प्रतिनिधित्वबारे दलहरूबीच सहमति खोज्नुपर्ने प्रचण्डले बताएका थिए । तर, एमालेको ५ नम्बर प्रदेश कमिटी भेलाले तीन जिल्ला झिक्न नदिने निर्णय गरेका थिए ।

ती जिल्ला अन्यत्र लैजान खोजिए आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् । ‘एउटा प्रदेशका तीन जिल्लालाई अर्कातिर लैजाने हो भने अर्काेतिरका जिल्ला कतै पनि लैजान हुन्न भन्ने तर्क कसरी पुष्टि हुन्छ ?’ एमाले उपाध्यक्ष भीम रावलले भने ।