एएफसी सोलिडारिटी कपमा आज नेपालको भेट ब्रुनाईसँग

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २३, २०७३

धादिङ कात्तिक २३-

natioanl-team-nepali

मलेसियामा जारी एएफसी सोलिडारिटी कप अन्तर्गत  नेपालले आज  ब्रुनाइसँग खेल्दैछ ।  ।  खेल नेपाली समय अनुसार आज बेलुका सवा पाँच बजे सुरु हुनेछ ।

यो खेलले सेमिफाइनलमा पुग्ने टिमको टुंगो लगाउने छ । नेपाललाई १० वर्ष अगाडि ब्रुनईबाट भोगेको २–१ गोल पराजयको बदला लिदैं समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गर्ने मौका जुरेको छ।
टिमोर लेस्टेबिरूद्ध गत शनिबार गोलरहित बराबरी खेलेको नेपालका लागि मंगलबारको खेल धेरै अर्थमा महत्वपूर्ण मानिन्छ। नेपाल समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको खण्डमा समूह ‘बी’ को बलियो टोली मकाउविरूद्धको सम्भावित भिडन्तलाई टार्न सफल हुनेछ।

समूह ‘बी’मा दुवै खेल जितेर मकाउ ६ अंकसहित शीर्षस्थान रहँदै सेमिफाइनल प्रवेश गरिसकेको छ। नेपालका लागि मंगलबारको खेल ब्रुनईका स्टार मिडफिल्डर अजवान अली रहमान र अग्रपंक्तिका दुई स्ट्राइकर दाजुभाइ शाहराजेन तथा आदी सहिदलाई रोक्नु मात्र हुनेछैन, यसअघि बंगलादेशको बंगबन्धु गोल्ड कप र १२ औं दक्षिण एसियाली खेलकुदमा गोलको बर्षा गरेको पुरानो लयलाई पुनः समात्नु पनि हुनेछ।

किनभने शनिबार प्रतियोगिताकै कमजोर मानिएको टिमोरबिरूद्ध दबाब बनाउँदा समेत नेपालले गोल गर्न सकेन। नेपालका ‘गोलमेसिन’ नवयुग श्रेष्ठले मात्र होइन, विमलघर्ती मगर पनि गोल गर्नबाट चुकेका थिए। मिडफिल्डमा राम्रो तालमेल नबन्दा र अग्रपंक्तिमा पर्याप्त बल सप्लाइ नुहँदा नेपालले प्रभावशाली प्रदर्शन गर्न सकेको थिएन।
ब्रुनईका दक्षिण कोरियाली प्रशिक्षक क्योन ओ–सुनले आफूहरू सेमिफाइनल प्रवेश गरिसकेको अवस्थामा नेपालबिरूद्धको खेलमा आफ्ना केही स्टार खेलाडीलाई विश्राम दिने बताएका छन्। उनले टिमोरबिरूद्धको खेलमा केही खेलाडीले खुट्टामा चोट बोकेका कारण विश्राम दिन लागेको बताए। तर, विश्राम पाउने खेलाडीमा को–को छन्, त्यसको खुलासा गरेका छैनन्।

ब्रुनईका २४ वर्षीय मिडफिल्डर अजवानले टिमोरबिरूद्ध अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेको केही मिनेटभित्रै दुई गोल गरेका थिए। उनी यस वर्ष सिङ्गापुर लिगका युवा वर्ष घोषित खेलाडी हुन्। यस्तै, स्ट्राइकरद्वय दाजु शाहराजेनले पेनाल्टीमार्फत र भाइ आदीले फ्रिकिकबाट सुन्दर गोल गरेका थिए। ‘हामीलाई थाहा छ नेपाल उपाधि कै दावेदार टोली हो।

त्यसैले हामी स्तब्ध नतिजा चाहदैनौ’, ब्रुनईका प्रशिक्षक ओ–सुनले अन्तर्वार्तामा भनेका छन्। फिफा वरियतामा ब्रुनईभन्दा ११ स्थान माथि छ, नेपाल। ब्रुनईको हालको फिफा वरियता १ सय ९७ हो। नेपालका जापानी प्रशिक्षक ग्योटोकु कोजी टिमोरबिरूद्ध नेपाली मिडफिल्डरको प्रदर्शनबाट खासै खुसी छैनन्।

त्यसैले ब्रुनईविरूद्धको खेलमा मिडिफिल्डमा केही परिवर्तनको सम्भावना रहेको छ। हाल नेपाली खेलाडीबाट उत्कृष्ट प्रदर्शन गराउने अभियानमा जुटेका प्रशिक्षक कोजुले मिडफिल्डबाट पनि लामो प्रहार र अग्रपंक्तिमा अत्याधिक बल सप्लाई गर्न प्रेरित गरिरहेका छन्।

मंगलबार नियमित कप्तान अनिल गुरुङ र नाडीको सल्यक्रियापछि मैदानमा फर्किएका भरत खवासमध्ये एक आक्रामक मिडफिल्डरको भूमिकामा सुरुमै मैदान प्रवेश गर्ने सम्भावना छ। नवयुग र विमलले नेपाली टिमको अग्रपंक्ति सम्हालेपछि यी दुवै खेलाडी टिमोरबिरूद्धको खेलमा दोस्रो हाफपछि मैदान प्रवेश गरेका थिए।