धादिङबेसी । धादिङबेसीमा पनि छठ पर्वको मुख्य दिन आज आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी छठ पर्व मनाईएको छ ।
पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदी सहित पाँच पाण्डव अज्ञात वासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो ।
उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।
धादिङमा केहि बेर अघि अस्ताउँदो सूर्यलाई पुजाआजा गरिएको थियो भने रात भर जागाराम बस्न टेन्ड राखेर सामुहिक पुजाआजा गर्न मिल्ने व्यवस्था मिलाईएको छ ।
भोलि बिहान सूर्य दर्शन नगरुन्जेल भक्तजनहरु जागाराम बस्ने छन् । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।