धादिङ कात्तिक २-
उपभोक्तालाई सहज रुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन नेपाल आयल निगमले इन्धन भण्डारण क्षमता पाँच गुणा बढाउने तयारी गरेको छ ।
अहिलेको भण्डारण क्षमतालाई संरचनागत रुपमै बढाई करिब ३९ करोड लिटर पुर्याउने निगमको योजना कार्यान्वयन चरणमा लगिदैंछ । त्यसका लागि निगमले यही वर्ष ५ अर्ब रुपैयाँ बजेटसमेत छुट्याएको छ ।
निगमको विद्यमान डिपो क्षमतामा थप ३१ करोड १७ लाख लिटर (३लाख १७ हजार किलोलिटर) पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन) भण्डारण गर्न (ट्यांक) निगम पूर्वाधार निर्माणमा जुट्न लागेको हो ।
अहिले रहेको ७१ हजार किलोलिटर (७ करोड १० लाख लिटर) क्षमताले बजार माग दुई साता पनि नथेगेपछि भण्डारण क्षमता विस्तार गरेर ३ लाख ८८ हजार किलोलिटर (३८ करोड ८० लाख लिटर) पुर्याउन लागिएको निगमले जनाएको छ ।
पूर्वाधारसहित भण्डारण क्षमता आव २०७३/०७४ मै ५ अर्ब रुपैयाँ विनियोजन गरिएको निगमका कार्यकारी निर्देशक गोपाल खड्काले जानकारी दिए । –नागरिक दैनिकबाट