थ्रीस्टार क्लव एएफसी कप फुटबल प्रतियोगिताको प्ले अफ चरणमा प्रवेश

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ १०, २०७३

धादिङ  भदौ १० ।

1472178543khel-khel-final

नेपालको लिग च्याम्पियन थ्रीस्टार क्लव एएफसी कप फुटबल प्रतियोगिताको प्ले अफ चरणमा प्रवेश गरेको छ ।

मंगोलियामा हिजो सम्पन्न समुह चरणको अन्तिम खेलमा आयोजक इर्चिम क्लबले कम्बोडियाको नागावर्ल्ड क्लबलाई १–० ले पराजित गरेपछि थ्रीस्टार क्लब समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको हो ।

एएफसी कप प्ले अफ अन्तर्गत हिजो भएको खेलमा नागावर्ल्डले अघिल्लो चरणमा छनौट हुन घरेलु टोली इर्चिमलाई ३–० ले हराउनुपर्ने थियो । तर खेलको अन्तिम मिनेटमा एक गोल गर्दै इर्चिम विजयी भएपछि थ्रीस्टार समुह विजेता बन्यो ।

मंगोलियामा सम्पन्न एएफसी कप प्ले अफ अन्तर्गत थ्रीस्टारले २ खेलमध्ये १ मा जित र १ खेलमा बराबरी गरेको थियो । थ्रीस्टारले पहिलो खेलमा इर्चिमलाई २–० ले पराजित गर्दा दोस्रो खेलमा नागा वर्ल्डसँग १–१ गोलको बराबरी खेलेको थियो ।

थ्रीस्टार समूहमा कूल ४ अंक बटुल्दै समूह विजेता बन्दा आयोजक इर्चिम ३ अंकसहित दोस्रो स्थानमा रह्यो । एशियाली फुटबल महासंघ (एएफसी) ले कजमोर हैसियत भएका ९ राष्ट्रका लिग च्याम्पियन टोलीहरुलाई एएफसी कपमा छनौटको व्यवस्था गरेको थियो ।

यी ९ टोलीमध्ये नेपालको थ्रीस्टारसँगै भुटान र किर्गीस्तानका लिग च्याम्पियन टोलीहरु पनि प्ले अफ चरणमा प्रवेश गरेका छन् ।