आयोजक इर्चिम क्लबले कम्बोडियाका नागावल्र्ड क्लबलाई १-० ले पराजित गरेपछि नेपालको थ्रीस्टार क्लब समूह विजेता बन्दै एएफसी कपको अघिल्लो चरणमा प्रवेश गरेको छ।
एएफसी कप प्ले-अफअन्तर्गत मंगोलियामा विहिवार भएको खेलमा नागावल्र्डले अघिल्लो चरणको छनोटका लागि इर्चिमलाई ३–० ले पराजित गर्नु पर्ने बाध्यता थियो। तर, इर्चिमले उल्टै नागावल्र्डलाई एक गोलले पराजित गरेपछि थ्रीस्टार क्लबलाई अघिल्लो चरणमा प्रवेश गर्न सहज भयो।
मंगोलियामा जारी एएफसी कप प्ले-अफअन्तर्गत थ्रीस्टारले २ खेलमध्ये १ मा जित र १ खेल बराबरीमा राखेको थियो। थ्रीस्टारले पहिलो खेलमा इर्चिमलाई २-० ले पराजित गरेको थियो भने नागावल्र्डसँग १–१ गोलको बराबरी खेलेको थियो। थ्रीस्टार समूहमा कूल ४ अंक बटुल्दै समूह विजेता बनेको हो। इर्चिम ३ अंकसहित दोस्रो स्थानमा रहयो।