धादिङ भदौ ५
नेपालकी निशा रावलले कास्य पदकका लागि रेपेचार्ज राउन्डमा प्रतिस्पर्धा गर्न पाउने भएकी छिन्। उनको दोस्रो भिडन्त आइतबार बिहान ५ बजेर १५ मिनेटमा हुनेछ।
फ्रान्सकी ग्वाल्डिज इपान्गुईसँग हुने पक्का भएको छ। ३३ वर्षीय फ्रेन्च खेलाडी इपान्गुई सन् २००८ बेइजिङ ओलम्पिक कि कास्य विजेता खेलाडी हुन्। निशालाई पहिलो राउन्डमा पराजित गर्ने चीनकी सुयिन झिङ फाइनलमा प्रवेश गरेपछि निशाले कास्य पदकका लागि रेपेचार्ज राउन्डमा खेल्ने अवसर पाएकी हुन्।
तेक्वान्दोमा पहिलो खेलमा पराजित गर्ने खेलाडी फाइनलसम्म पुगेको खण्डमा ऊसँग भिडन्त गर्ने खेलाडीले कास्यको स्पर्धामा भाग लिन पाउने नियम छ। शनिवार साँझ ७ बजेर ४५ मिनेटमा भएको खेलमा निशा २–० ले चिनियाँ खेलाडीसँग पराजित बन्न पुगेकी थिइन्। यो प्रदर्शन ओलम्पिकमा नेपालका तेक्वान्दो खेलाडीले गरेको अहिलेसम्मकै उत्कृष्ट थियो।
सन् २०१० को युथ ओलम्पिककी स्वर्ण विजेता २२ वर्षीय झिङसँग निशाले निडर खेल प्रदर्शन गरेकी थिइन्। उनले पहिलो राउन्डको खेलमा शुन्य स्कोरमा उनलाई रोक्न सफल भएकी थिइन्। दोस्रो राउन्डमा भने उनले २ अंक गुमाइन्। निशा भन्दा निकै अग्ली ६ फिट २ इन्चकी झिङले एक अंक निशाको करङमा छोएर प्राप्त गरेकी थिइन्। अर्को अंक निशाले २ वटा चेतावनी पाएपछि चिनियाँ खेलाडीको खातामा १ अंक थप भएको थियो।
तेस्रो राउन्डमा पनि उनले चिनियाँ खेलाडीलाई शुन्यमै रोकेकी थिइन्। ओलम्पिकमा उनीभन्दा अगाडि भाग लिएका २ नेपाली खेलाडीले निशाजस्तै प्रभावशाली खेल प्रदर्शन गर्न सकेका थिएनन्। हाल उनलाई प्रशिक्षण दिइरहेकी संगीना बैधले सन् २००४ मा एथेन्स ओलम्पिकमा चिनियाँ ताइपेयीकी चेन सी–हासिनसँग ४–० ले खेल गुमाउनु परेको थियो। बैध त्यतिबेला ताइपेयीकी खेलाडी फाइनलमा पुगेपछि रेपेचार्ज राउन्ड खेल्ने भाग्यमानी खेलाडी सावित भएकी थिइन्। सन् २००८ को बेइजिङ ओलम्पिकमा दीपक बिष्ट पहिलो खेलमा इरानका हादी सेईसँग ७–० ले पराजित भएका थिए।