धादिङ साउन ३२
सवारी दुर्घटनामा औसत दैनिक करिब ६ जनाको मृत्यु हुने गरेको छ। गत आर्थिक वर्षमा दुई हजार ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको प्रहरीको तथ्यांक छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।
प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार १ साउन ०७२ देखि ३१ असार ०७३ सम्ममा देशभर १० हजार १३ दुर्घटना भएकोमा चार हजार ८ सय ८२ जना गम्भीर घाइते तथा आठ हजार दुई सय २६ सामान्य घाइते भएका छन्। आर्थिक वर्ष ०७१/७२ मा पनि दुई हजार दुईजनाले सडक दुर्घटनामा ज्यान गुमाएका थिए।
गत वर्ष मध्यमाञ्चल क्षेत्रमा दुर्घटनामा सबैभन्दा धेरैको ज्यान गएको छ। मध्यमाञ्चलमा ६ सय ९१, पश्चिमाञ्चलमा पाँ सय २०, पूर्वाञ्चलमा चार सय ४६, मध्यपश्चिममा दुई सय २८ तथा सुदूरपश्चिममा एक सय २१ जनाको मृत्यु भएको छ। उपत्यकामा मात्र एक सय ६६ जनाको मृत्यु भएको तथ्यांक छ।
प्रहरीका अनुसार गत वर्ष १० हजार १३ दुर्घटना भएका छन्। ६ हजार तीन सय ६५ मोटरसाइकल, चार हजार पाँच सय २८ कार, जीप र भ्यान, एक हजार ९ सय ७० बस, एक हजार ९ सय २१ टङक, ट्यांकर, ६ सय ९० ट्याक्टर, दुई सय टेम्पो दुर्घटनामा परेका हुन्।
७० प्रतिशत घटनामा चालकको लापरबाही
प्रहरी प्रधान कार्यालयले ७० प्रतिशतभन्दा धेरै दुर्घटना चालकको लापरबाहीले हुने गरेको विश्लेषण गरेको छ। गत वर्षका १० हजार १३ दुर्घटनामध्ये सात हजार चार सय ३२ घटना चालकको लापरबाहीले भएको प्रहरीले जनाएको छ। एक हजार दुई सय ७३ तीव्र गति, तीन सय २१ मादक पदार्थ सेवन, तीन सय ८१ यात्रुको गल्ती, दुुई सय २६ ओभरटेक, दुई सय ४५ यान्त्रिक गडबडी, ५३ ओभरलोड, ३४ सडकको अवस्था, ३४ चौपाया र १४ दुर्घटना मौसमको कारण भएको तथ्यांक छ।