६०वर्षे सेतीमाया चेपाङ खानेपानी माग गर्दै सदरमुकाम धादिङबेंसीमा पहिलो पटक आइन् । विकट वस्तीबाट २४ किमि हिँडेर सेतीमायासँगै प्रेमबहादुर चेपाङ र दिलबहादुर चेपाङसहित ९ जनाको समूह ६० किमि टाढाबाट आएको हो ।
बस्तीमा खानेपानीको साह्रै ठूलो समस्या भएपछि अड्डामा आएका छौं । महाभारत शृंखलामा पर्ने १८ सय ४५ मिटर उचाइको ब्रसबाङ लेकमा ३१ घरधुरीलाई वर्षौंदेखि खानेपानीको समस्या छ । आर्थिक वर्षको अन्त्यमा उनीहरू निवेदन बोकेर जिविसमा आएका हुन् । उनीहरूले स्थानीय विकास अधिकारी भगवान अर्याललाई पानी पिउन नपाएको कथा सुनाए ।
चेपाङका अगुवा पूर्णबहादुरले भने गाउँमा विद्यालय छैन, ‘१५ वर्षका छोराछोरी अझै बालकक्षामै अध्ययन गर्छन् । पानीका लागि दैनिक ५ घण्टा उकालो–ओह्रालो गर्नु पर्छ । ‘छिमेकी बस्तीलाई पानी पुग्यो तर माग कसैले सुनेनन् । महिलाहरूले जिविससँग खानेपानी, खाद्यान्न, बाटोघाटो तथा गाउँलाई पर्यटकीय क्षेत्रको विकासमा सघाउन माग गरेका छन् ।
३१ परिवार खानेपानी लिन बारबाङ धाउने गर्छन् । पानी नभएकै कारण भैंसी पाल्ने सपना पूरा गर्न सकेका छैनांै, सेतीमाया चेपाङ बताउँछिन् । उनीहरू गाई, बाख्राहरूलाई एक दिन बिराएर पानी खुवाउन कुवामा लैजाने गरेका छन् । नुहाउन पनि चार घण्टा लगाएर कुवानै धाउनुपर्छ ।
महादेवस्थानको चेपाङ बस्तीलाई लक्षित गरी वैकल्पिक ऊर्जामा आधारित लिफ्ट खानेपानी सोलार मिनी ग्रिड परियोजना तथा आयआर्जन कार्यक्रम र बु्रसबाङ लिफ्ट खानेपानी परियोजनाका लागि १ करोड ४० लाख विनियोजन गरिएको भए पनि त्यसको कार्यान्वयन भएको छैन । पोखरी निर्माणका लागि छुट्याइएको २ लाखको पनि काम भएको छैन ।