युरो कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक फ्रान्सले रोमानियासँग प्रतिस्पर्धा गर्दैछ। राजधानी पेरिसबाट १० किलोमिटर टाढा उत्तरतर्फ रहेको राष्ट्रिय रंगशाला द स्टेड डी फ्रान्समा हुने खेल शुक्रबार मध्यराति सुरु हुनेछ।
आतंककारी हमलासहितको सुरक्षा चुनौतीका बाबजुद विश्वकपपछिको दोस्रो ठूलो प्रतियोगिताको रूपमा लिइने युरो कपको उद्घाटन खेल हेर्न भव्य दर्शकको अपेक्षा गरिएको छ।
युरोकप र अन्य प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले रोमानियासँग हालसम्म पराजय व्यहोर्नु परेको छैन। यद्यपि पछिल्लो भेटमा रोमानियाले फ्रान्सलाई बलियो टक्कर दिने गरेको छ। त्यसैले यी दुई टोलीबीचको खेल पनि रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
युरो कपमा फ्रान्स र रोमानियाले यसअघि दुई पटक प्रतिस्पर्धा गरेका छन्। दुईमध्ये एकमा फ्रान्स विजयी बनेको छ भने अर्काे खेल बराबरीमा सकिएको छ। सन् १९९६ मा भएको प्रतिस्पर्धामा फ्रान्स १-० ले विजयी बनेको थियो।
सन् २००८ मा भएको प्रतिस्पर्धा भने गोलरहित बराबरीमा रोकिएको थियो। समग्रमा सन् २०१२ को युरो कप छनोट खेलमा फ्रान्स २-० ले विजयी भएको बाहेक यी दुई टोलीबीचको पछिल्लो पाँच खेलमा चार बराबरीमा रोकिएका छन्।
रोमानियाविरुद्व फ्रान्स आफ्नो राष्ट्रिय रंगशाला स्टेड डी फ्रान्समा निक्कै सफल छ। स्टेड डी फ्रान्समा एक पटक बराबरीमा रोकिएको फ्रान्स रोमानियाविरुद्धको सबै खेलमा बिजयी बनेको छ। स्टेड डी फ्रान्समा सन् २००९ को सेप्टेम्बरमा भएको विश्वकप छनोट खेलमा फ्रान्सलाई १-१ गोलको बराबरीमा रोक्नु नै घरेलु टोलीविरुद्ध रोमानियाको ठूलो सफलता हो।