धादिङ २६ जेठ
पाराग्वेलार्इ हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ।
बुधवार विहान अमेरिकाको क्यालिफोर्नियामा भएको खेलमा कोलम्बियाले पाराग्वेलाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको हो। कोलम्बियाले खेलको १२ औं मिनेटमै बाक्काको गोलबाट सुरुवाती अग्रता लियो। खेलको ३० औँ मिनेटमा जेम्स रोड्रिग्वेजले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।
पहिलो हाफमा २–० को अग्रता लिएको कोलम्बियाले दोस्रो हाफमा भने गोल गर्न सकेन। पाराग्वेका लागि खेलको ७१ औं मिनेटमा भिक्टर ह्युगोले सान्तोना गोल फर्काए।खेलको ८१ औं मिनेटमा रोमेरियो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अन्तिम ९ मिनेट पाराग्वे १० खेलाडीमा सीमित भएको थियो।
समूह एमा रहेको कोलम्बियाको २ खेलबाट ६ अंकका साथ समूहको शीर्ष स्थानमा छ भने समान २ खेलबाट ३ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ। दुई खेल नै खेलेका पाराग्वे र कोष्टारिकाको समान १–१ अंक छ।