मुरलीभञ्ज्याङ हत्या गरिएकाको स्मृति सभा (सहिद बस्नेतको चिठी)

Avatar photo
Dhadingpost
बुधबार, चैत्र १७, २०७२

धादिङबेसी चैत्र १७ । नीलकण्ठ नगरपालिका स्थित मुरलीभञ्ज्याङ गाविसमा हत्या गरिएका ३ जनाको सम्झनामा स्मृति सभा सम्पन्न भएको छ ।
२०५८ साल चैत्र १६ गतेका दिन तत्कालिन शाही नेपाली सेनाले माओवादीको आरोपमा निर्मम ढंगले मुरलीभन्ज्याङ ज्यामिरेमा हत्या गरिएका अम्बिका बस्नेत, जितमान श्रेष्ठ, र शान्ति पाण्डको सम्झनामा सोमबार स्मृति दिवस मनाईएको हो ।
कार्यक्रममा एकिककृत नेकपा माओवादीका धादिङका सचिव विजय बुर्लाकोटी, सहसचिव मनराज भण्डारी शैलेसको अखिल नेपाल शिक्षक संगठनका अजुर्न नगरकोटीको बिशेष आतिथ्यता रहेको थियो । यसैगरी एकिकृत नेकपा माओवादी नीलकण्ठ नगरपालिका २ मा पार्टी सदस्यहरुबीच भएको भेलाले ध्वज बहादुर गुरुङको संयोजकत्वमा २३ सदस्यीय र २ नम्बर वडा सम्मेलन समेत गठन गर्ने निर्णय गरिएको छ ।

आदरणीय दाजु भाउजू
युद्ध मैदानबाट न्यानो सलाम
साथै सानो भाइमा न्यानो माया छ ।

समयको भेलसँगै बगिरहेको जीन्दगीमा म आफ्नो दुःख कष्टहरुलाई सुखमा परिणत गरिरहेको छु । मैले सोचेकी छु, त्यहाँ तपाईंहरु पनि आफ्ना संघर्षशील जीन्दगीमा आरामै हुनुहुन्छ होला ।
दाइ मान्छे भएर जन्म लिइसकेपछि उसले यस धर्तीमा बाँच्नको लागि अर्थात गाँस, बास र कपासको लागि विभिन्न संघर्ष गर्न पर्दो रहेछ । त्यसैले मैले पनि म र मेरो शब्दबाट हामी र हाम्रो बनाउनको लागि विभिन्न बस्ती–बस्ती र गाउँघर उकाली–ओराली, भीर–पाखा दिन रात आदिमा छिप्दै अनेकौँ कठिनाईहरुसँग जुध्दै र वर्र्ग वैरी दुस्मनको घेरा तोड्दै कतै छिप्दै तमाम सर्वहारावर्गहरुको मुक्तिको लागि संघर्ष गरिरहेछु र मैले सोचेकी छु तपाईं पनि आफ्नो वर्गको वर्ग विश्लेषण गर्दै आफूलाई कुन वर्ग भित्र परिन्छ त्यही वर्गको पक्षमा वकालत तथा कार्य गरिरहनु भएको होला भन्ने सोचेको छु ।
दाइ, ब्रमाण्डमा जति पनि जीवहरु छन् ती मध्ये उच्च चेतनशील प्राणी मानिस नै हो र मानवसमुदायमा सर्वश्रेष्ठ जाति भनेको कम्युनिष्ट नै हो । कम्युनिष्टले नै सर्वहारा र श्रमीकको पक्षमा अर्थात हीतमा राज्यसत्ता चलाउँदछ । जसमा सम्पूर्ण जनताले गाँस, बास र कपासको ग्यारेण्टी पाउँछन् । त्यसैले म जहाँ जान्छु त्यहाँ कम्युनिष्ट बनाउँछु । हुन त कम्युनिष्ट बन्नु त्यति सजिलो कुरो होइन किनभने अझै नेपालीहरुमा पेटी बुर्जुवा चिन्तन छ र स्वार्थ छ जुन माक्र्सवाद, लेनिनवाद र माओवादको वर्ग दुश्मनको रुपमा चिनिन्छ । किनभने क्रान्तिका कुरा गर्छन् । सर्वहारावर्गको अधिनायकत्वमा श्रमीक वर्गको शासन हुनुपर्दछ भन्छन् तर क्रान्तिमा हिँड्न डराउँछन् । उनीहरु चाहन्छन्, हाम्रा कुनै सन्तान थुनिन, जेलमा पर्न, रगत बगाउन हुँदैन र त्यसदेखि डराउँछन् । उनीहरु केवल मौखिक क्रान्तिकारी हुन्छन् अर्थात घरमा बसेर आफूलाई क्रान्तिकारी सोच्दछन् । त्यसैले उनीहरु माक्र्सवाद विरोधी हुन् किनभने माक्र्सवाद भनेको विज्ञान हो । विज्ञानले प्रयोग खोज्दछ । हो, मानवमा पनि दुई वर्ग छ । एउटा शोषक र अर्को शोषित वर्ग जसमा राज्यसत्ता प्राप्ति गर्न निर्मम क्रान्ति गर्नुपर्दछ भनेर माक्र्सले बताउनुभएको छ । वास्तविक माक्र्सवादी तिनै हुन् जो संघर्ष गर्दछ । हुन त क्रान्तिमा विभिन्न खालका मान्छे आउँछन् जसमा सिआइडि, गद्दार मान्छे पनि हुन्छन् । जसले क्रान्तिलाई निर्मम आक्रमण गर्दछन् । धोका दिँदै सिद्धान्तमाथि ओभरह्वेल्म गर्दछन् । यस्ता गद्दार र सिआइडिहरुका विरुद्धमा सच्चा क्रान्तिकारीहरु सचेत हुनुपर्दछ र उनीहरुबाट बच्नु पर्दछ । किनभने उनीहरुले क्रान्तिलाई ध्वस्त पार्नको लागि विभिन्न कुटिल चालहरु चाल्दछन् । यसैले हामीले त्यस्ता ब्वाँसाहरुबाट सतर्क हुँदै क्रान्ति विजयको टुंगोमा नपुुगेसम्म सतर्क हुनुपर्दछ । पार्टीभित्र र आफूभित्र आत्मसंघर्ष र अन्तरसंघर्ष चलाइरहनु पर्दछ । दाइ तपाईंलाई थाहा छ हामीहरु जनयुद्ध लडिरहेका छौँ । हामीलाई विश्वास छ, यो देशमा शोषकहरुको दमन र खुनि पञ्जा एक दिन खतम पारिने छ र पुरानो ध्वंस र नयाँको निर्माण हुनेछ । रातो लाल किरणले देशै रातो पार्नेछ । जनताको सुदिन आउनेछ र जनतामा हौसला हुनेछ र त्यतिबेला मात्र हाम्रो क्रान्ति रोकिनेछ ।
दाइ, मैले सोचेकी छु, सानो बाबुले जब बोल्न सिक्नेछ त्यतिबेला महान शब्द क्रान्ति र कमरेड भनेर बिस्तारै सिकाउनुहुनेछ र क्रान्तिको गीतको धून सुनाउँदै नवजात शिशुबाटै सच्चा क्रान्तिकारी बनाउनुहुनेछ भन्ने आशा गरेकी छु । अर्को के आशा गरेकी छु भने, दाइ पनि महान सहिदहरुले देखाएको बाटोमा लामबद्ध र गोलबन्द हुँदै क्रान्तिलाई सहयोग गर्नुहुनेछ भन्दै कलम बन्द गर्दछु । हस्त लाल सलाम !

२०५६ असोज
उही बहिनी
अम्बिका बस्नेत