हरिहरसिंह राठौर, चरौंदी (धादिङ)। पाँच घन्टा पैदल हिँडेर सरकारले भूकम्पपीडितका लागि न्यायो कपडा किन्न दिएको पैसा लिन आएका धुषा गम्राङका वलवीर चेपाङले त्यो पैसाले पुरानो ऋण तिरे । ‘उधारोमा लिएको राशनपानी, नुन तेलको ऋण ६ हजार थियो, तिरियो । चार हजार घर लगेर बुढीलाई दिन्छु, यो जाडो सकिने बेला लुगा कसले किन्छ ?’ उनले भने ।
देवलाल प्रजाले पनि वलवीरले जस्तै पुरानो उधारो चुक्ता गरे । ‘मेरो १२ जनाको परिवार छ, खर्च पनि धेरै लाग्छ, ८ हजार त उधारो तिरें,’ उनले भने ।
चरौंदीमा सरकारले भूकम्पपीडितलाई राहत बाँडेको गाविस भवननेर नै केही पसलेहरु आफ्नो ऋण उडाउन आइपुगेका थिए । भवन वरपर भएका फलफूल, खाद्यान्न र केही मदिरा पसलेले समेत आफ्नो ऋण असुले । धुषा र आसपासका क्षेत्रका मानिसहरुले आफ्ना दैनिक उपभोग्य वस्तुको समेत किनमेल गर्ने बजार चरौंदी हो ।
मकवानपुरसँग जोडिएको धुषा गाविस धादिङमा सबभन्दा घना चेपाङ बस्ती भएको गाविस हो । जिल्लाको पल्लो भेग बु्रसवाङबाट पृथ्वीराजमार्गको चरौंदीसम्म आइपुग्न उनीहरु विहान ८ बजे खाजा खाएर घरबाट निस्केका थिए । यो गाविसमा करिब ६ सय घरधुरी चेपाङको बसोबास छ । भूकम्पपीडितको परिचयपत्र हुनेहरुलाई १० हजार वितरण गरिएको थियो ।
वस्ती वस्तीमा पुगेर रकम वितरण गर्ने सरकारी निर्णयको वेवास्ता गर्दै पूरै गाविसका भूकम्पपीडितहरु १५ सय ११ घरधुरीलाई नै गाविस भवनमा आउने उर्दी जारी गरिएको थियो ।
जिल्ला विपद् व्यवस्थापन समितिले २० गतेसम्म जिल्लाका ४६ वटै गाविस र नगरपालिकामा न्यानो कपडा खरिद गर्न रकम वितरण गरिसक्ने निर्णय गरे पनि हालसम्म आधा पनि वितरण हुन सकेको छैन । जिल्लामा रकम प्राप्त भएको १ महिना बितिसक्दा पनि स्थानीय प्रशासनको लापरबाही, गाविसमा सचिव नहुनु, यातायात असुविधा, कर्मचारी अभावका कारण वितरण हुन नसकेको हो ।
सडक यातायातले नछोएका जिल्लाका उत्तरी ५ गाविसहरु झार्लाङ, सेर्तुङ, लापा, तिप्लिङ र रीगाउँमा आईतबार हेलिकप्टरबाटै कर्मचारी तथा नगद पठाएर वितरण गरिएको स्थानीय विकास अधिकारी भगवान अर्यालले बताए । साभार कान्तिपुर