बाबुराम भट्टराईका जटिलता

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक १५, २०७२

ध्रुवराज अधिकारी ।
एमाओवादी अध्यक्ष प्रचण्डका शब्द सापटी लिने हो भने पूर्व माओवादी नेता डा. बाबुराम भट्टराई निकै जटिल मान्छे हुन् । नेपाली जनयुद्धमा उनको योगदान सरानीय छ यद्यपि उनको अर्को पाटो पनि छ । धेरै पाटो हुनु जटिलताको विशेषता पनि हो । उनको बारेमा नमीठो लेख्न नपरोस् भनेर मैले धेरै कामना गरेको हुँ । किनकि, उनी लामो समय मजस्ता थुप्रै क्रान्तिकारी युवाहरुका लागि आशाका एउटा धरोहर थिए ।

dhrubaraj-adhikariखासमा बाबुरामले नेपाली माओवादी आन्दोलनभित्र आन्तरिक र बाह्य लोकतन्त्रका विषयमा जे जस्ता विषयवस्तु उठाएका थिए, ती जायज थिए । यस हिसाबले माओवादी आन्दोलनभित्र र बाहिरबाट उनलाई हिजो मनग्गे समर्थन मिलेको थियो । नयाँ ढंगले सोच्न चाहने क्रान्तिकारी युवाहरुले उनीप्रति आशाको नजरले हेर्नुको कारण पनि त्यही थियो ।

हुन त बाबुराम आफूलाई पूर्वप्रधानमन्त्रीको रुपमा चिनाउन बढी मन पराउँछन् । तर, उनको परिचय पूर्वप्रधानमन्त्रीको रुपमा कम र पूर्व माओवादीको रुपमा बढी हुनुपर्छ । उनी कुनै समय माओवादी आन्दोलनमा प्रचण्डपछिका दोस्रा नेता नभइदिएको भए, जवाहरलाल नेहरु विश्वविद्यालयले दिएको पीएचडीको आधारमा मात्रै उनी प्रधानमन्त्री बन्ने र अहिले उनको बारेमा केही लेख्न टाउको दुःखाउनुपर्ने कुनै आवश्यकता सायदै रहन्थ्यो । यसै सन्दर्भमा हालसालै कम्युनिस्ट आन्दोलन छोडेर नयाँ शक्ति निर्माणको अश्वमेघ यज्ञमा निस्किएका डा. बाबुरामका केही जटिलता केलाउने प्रयास यो लेखमा गरिएको छ ।

डा. बाबुरामले पछिल्लो समयमा गरेको प्रयास र उनका मन्तव्यलाई गहिरो गरी नियालेर छोटकरीमा के टिप्पणी गर्न सकिन्छ भने उनी आफूलाई ‘माओवादी’ इतर देखाउन खोजिरहेका छन् । तर, रोचक तथ्य के छ भने उनी माओवादी आन्दोलनका सकारात्मक उपलब्धि जति सबै आफ्नो खल्तीमा हाल्ने र कमजोरी जति सबै आन्दोलनमा संलग्न अरुहरुकोे थाप्लोमा भिराउने प्रयास गरिरहेका छन् । यसका लागि उनले बिस्तारै दुई कुरामा जोड दिन थालेका छन्– पहिलो हो, एमाओवादी आन्दोलनमा आएको आर्थिक अपारदर्शीता र दोस्रो हो, जनयुद्धको क्रममा भएका उनकै शब्दमा ‘अवान्छित हिंसा’। उनले यो पनि भन्न भ्याएका छन्, व्यक्तिगत रुपमा आफू कुनै क्रान्तिकारी हिंसामा संलग्न थिएनन् । यहाँनेर डा. बाबुराममा रहेको पाखण्ड, अवसरवादिता र गैरजिम्मेवारपन उजागर हुन्छ । यो राजनीतिक फट्याइँको पराकाष्ठा हो । खासमा उनी हिजोका वर्गमित्रलाई शत्रु र हिजोका वर्गशत्रुलाई मित्र बनाउन खोज्दै छन् । तर, हिजोका उनका शत्रुहरुले उनलाई अझै पत्याइदिएका छै्रनन् । कुरो यति मात्रै हो ।
अर्को कुरा बाबुरामका मन्तव्य सुन्ने हो भने यस्तो लाग्छ उनीमात्रै दूरद्रस्टा हुन्, राजनेता हुन् । उनीमात्रै सफा हुन् । उनी मात्रै ज्ञानी हुन् । उनले जनयुद्धको समयमा पनि ‘अज्ञानी’हरुका विरुद्ध जेहाद छेड्दै आएका हुन् । आज पनि उनले त्यसलाई निरन्तरता दिएका छन् । उनका लागि एउटा खास प्रकारको किताबी ज्ञान मात्रै ज्ञान हो । अरु ज्ञान ज्ञानै होइन । माओवादी आन्दोलनभित्र जहिले पनि उनले बाबुरामज्ञानमालाको ‘हेजेमोनी’ खडा गर्न खोजे । पार्टीलाई उक्त ज्ञानमालाको आधारमा उपनिवेशीकरण गर्न खोजे । र, आज असफल भएपछि उनी पार्टीबाट बाहिरिएका छन् ।

बाबुराम सहभागितामूलक लोकतन्त्रको कुरा गर्छन्, तर आफू मात्रै ज्ञानी, आफू मात्रै सदाचारी भनेर कसैले सोच्छ भने त्यहाँ सहभागितामूलक लोकतन्त्रको प्रश्न कहाँनिर आउँछ ? त्यहाँ त ‘ज्ञानी’ले ‘अज्ञानी’लाई कोलोनाइज गर्ने प्रश्न मात्रै आउँछ । ‘सदाचारी’ले ‘दुराचारी’लाई दण्ड दिने कुरा मात्रै आउँछ । ज्ञानी र अज्ञानी, अनि सदाचारी र दुराचारीबीचको पातलो सीमारेखालाई राम्ररी बुझ्न नसक्नुृ वा बुझेर पनि बुझ पचाउनु बाबुरामको सबैभन्दा ठूलो कमजोरी हो ।

दोस्रो कुरा, दोस्रो संविधानसभाको चुनावपछि गोदावरीमा दुई दिन गुप्तवास बसेपछि प्रचण्डकोमा गएर एमाओवादी र एमालेबीचमा एकता गरेर जानुपर्छ भनेर प्रस्ताव गर्ने व्यक्ति यिनै बाबुराम हुन् । तर, उनले हालसालै आफ्नो ट्टिर पेजमा एउटा यस्तो पोस्ट सेयर गरिदिए, जसको आशय छ— राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री सबै कम्युनिस्ट भए । अब हामीले श्रमशिबिर जानुपर्ने होला । भागौं ! यस्तो पोस्ट शेयर गरेको देखेपछि जोसुकै नेपाली वामपन्थी पनि स्तब्ध हुन्छ नै । बाबुरामका यस्ता हर्कतबाट आज उनी कोबाट परिचालित छन् भन्ने प्रश्नसमेत उब्जन गएको छ ।

आज नेपाल तीब्र ध्रुवीकरणको प्रक्रियामा छ । दक्षिणपन्थीहरु कांग्रेसको नेतृत्वमा ध्रुवीकृत हुँदै छन् । प्रधानमन्त्री चुनावमा मधेसका सामन्तहरुको प्रतिनिधित्व गर्ने दलहरुले सुशील कोइरालालाई मत दिनु त्यसको उदाहरण हो । दक्षिणपन्थी ध्रुवीकरणको सामना गर्न सबै वाम एक ठाम हुनुपर्ने बेला बाबुराम नयाँ शक्तिको मुरली बजाउँदै हिँडेका छन् । नेपाललाई नयाँ वामपन्थी शक्ति चाहिएको छ । त्यस्तो वामपन्थी शक्ति विभिन्न धाराका वामपन्थीहरु एक भएर खडा हुन सक्छ । तर, बाबुरामले जस्तो नयाँ शक्ति भनेका छन्, त्यो दक्षिणपन्थको गोटी सिबाय अरु केही हुन सक्दैन । किनकि, दक्षिणपन्थी प्रभुत्व भएको यो दुनियामा कसैले आफूलाई मझधारको भन्छ भने त्यसले दक्षिणपन्थको मात्र सेवा हुनसक्छ ।

अब कोही पनि क्रान्तिकारी बाबुरामबाट भ्रमित हुनुहुन्न । बाबुरामले पार्टी छाडेपछि सबभन्दा बढी कसैलाई भेटेका छन् भने पुँजीपतिहरुलाई भेटेका छन् । उनी माओवादी कार्यकर्ताबीच गएर माक्र्सवादको कुरा पनि गर्छन् । तर, उनको माक्र्सवाद देखाउने दाँत मात्रै हो भन्ने कुरा क्रान्तिकारीहरुले बेलैमा बुझ्नुपर्छ । अब उनको चपाउने दाँत त नेपालको पुँजीपति वर्ग बनेको छ । त्यसैले, उनी आर्थिक समृद्धिको ढोल बजाउँदै हिँडेका छन् । तर, अर्थशास्त्रका विद्यावारिधि डा. बाबुरामलाई मेरो प्रश्न छ– कसको आर्थिक समृद्धिको कुरा गर्दै हुनुहुन्छ डा. साहेब ? मजदुरको वा पुँजीपतिको ? साभार काडमाण्डु टुडे