विश्वकप क्रिकेटका लागि नेपाल छनोट भयो

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक ६, २०७२

fottएजेन्सी । बंगलादेशमा हुने १९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि नेपाल छनोट भएको छ । विहिबार भएको फाईनल खेलमा आयरल्याण्ड्लाई तीन विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो ।
मलेसियाको क्वालालम्पुरमा भएको फाइनल खेलमा पहिले व्याटिङ आयरल्याण्डलाई १ सय ८४ रनमा सीमित गरेको नेपालले ४६ ओभर २ बलमा लक्ष्य पुरा गर्यो । १ सय ८५ रनको लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको नेपालको शुरुवात खराब रह्यो । ओपनर सन्दीप सुनार पहिलो बलमै पेभेलियन फर्किए । ३५ रनमा नेपालले दोस्रो विकेट गुमायो ।
तर अर्का सुरुवाती व्याट्स्म्यान सुनिल धमलाले सर्वाधिक ४७ रन बनाएर नेपाललाई सम्हाले । त्यस्तै नेपालका मध्यक्रमका ब्याट्स्म्यान राजु रिजालले ३५ रन जोडे । त्यसैगरी दिपेन्द्रसिंह ऐरीले २६ तथा आरिफ शेखले २१ रनको महत्वपुर्ण योगदान गरे । त्यस्तै आठौ नम्बरमा क्रिजमा आएका सौरभ खनालले १३ बलको सामना गर्दै १६ रनको महत्वपुर्ण पाली खेले । उनले ४७ औं ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दै नेपालको जित सुनिश्चित गरे । पहिलो ब्याटिङ गरेको आयरल्याण्डले खराब शुरुवात गरेपनि मध्यक्रमले सम्हाल्यो ।
१३ रनमा पहिलो र ३१ रनमा दोस्रो विकेट गुमाएको आयरल्याण्डले तेस्रो विकेटका लागि ७६ रनको महत्वपुर्ण साझेदारी गर्यो । नेपालका लागि बलिंङ तर्फ आरिफ शेखले ३ विकेट लिए । उनले ८ ओभर बलिङ गर्दै मात्र २१ रन दिएका थिए । अर्का बलर ललितनारायण राजवंशीले ४ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ३६ रन दिएका थिए । दिपेन्द्र ऐरीले पनि २ विकेट लिएका थिए ।