थ्रीस्टार शीर्ष स्थानमा

Avatar photo
Dhadingpost
बुधबार, अशोज २७, २०७२

footballकाठमाडौँ, २६ असोज । थ्रीस्टार क्लबले विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै राष्ट्रिय लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा थ्रीस्टारले एपिएफलाई ३–१ गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो । जारी प्रतियोगितामा १५ खेल खेलेको थ्रीस्टारले ३२ अङ्क जोडेको छ । जितसँगै थ्रीस्टारले राष्ट्रिय लिगको उपाधिको सम्भावनालाई बलियो बनाएको छ ।
प्रतियोगितामा समान १५ खेल खेलेको त्रिभुवन आर्मी क्लब ३० अङ्कका साथ लिगको दोस्रो स्थानमा छ भने १४ खेल खेलको मनाङ मस्र्याङ्दी क्लब लिगको तेस्रो स्थानमा छ ।
थ्रीस्टारको जितमा विदेशी खेलाडी ओलावाले अफिजलेले दुई गोल गरे भने विजय गुरुङले एक गोल थपे । अफिजले खेल सुरुवाती पाँचौ मिनेटमा पहिलो गोल गर्दै खाता खोले । त्यस्तै खेलको पहिलो हाफको २४ औँ मिनेटमा पुन अफिजले निराजन खड्काले दिएको पासलाई सदुपयोग गर्दै थ्रीस्टारलाई दोस्रो अग्रता दिलाए ।
खेलको पहिलो हाफसम्म २–० गोलअन्तरले अगाडि रहेको थ्रीस्टारले खेलको दोस्रो हाफमा पुन एक गोल थप्यो । थ्रीस्टारका अर्का खेलाडी गुरुङले खेलको ६७ औँ मिनेटमा एक गोल थपेका थिए ।
त्यस्तै खेलको ५० औँ मिनेटमा एपिएफका खेलाडी गणेश लावतीले एक सान्त्वना गोल फर्काएका थिए । हारसँगै एपिएफ उपाधि होडबाट बाहिरिएको छ । जारी प्रतियोगितामा १५ खेल खेलेको एपिएफ २३ अङ्कका साथ लिगको पाँचौ स्थान रहँदै राष्ट्रिय लिगको उपाधि होडबाट बाहिरिएको हो ।
बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाल प्रहरी क्लबले मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ । रासस