तरकारीले भाउ पायो

Avatar photo
Dhadingpost
बुधबार, अशोज २७, २०७२

हरिहरसिंह राठौर
धादिङ । अघोषित भारतीय नाकाबन्दीले धादिङका तरकारी उत्पादक किसानहरूले बजार भाउ राम्रो पाएका छन् । खडेरीले तरकारी उत्पादनमा कमी आए पनि उत्पादित तरकारीले दोब्बर भाउ पाएपछि किसानहरू हर्षित भएका छन् । मुख्य बजार काठमाडौंमा राम्रो बजार भाउ पछि तरकारी खरद गर्ने बिचौलियाहरूले पनि किसानलाई तरकारी संकलन केन्द्रमै दोब्बर भाउ भुक्तानी गर्न थालेका छन् ।
Vagetableराजधानीबाहेक धादिङबाट यसअघि पोखरा, नारायणगढ, सुर्खेत, दाङ, नेपालगन्जसम्म तरकारी निर्यात गर्ने एक दर्जन तरकारी संकलन केन्द्र र थोक व्यापारीहरूले ढुवानी साधनको अभावमा राजधानी मात्रै पठाउन थालेका छन् । भारतीय नाकाबन्दीले तेल अभावमा पृथ्वी राजमार्गमा ढुवानी साधनहरू कमै मात्र सञ्चालन हुन थालेका छन् । नजिकै राजधानीमा राम्रो भाउ पाएपछि बिचौलियाहरूले कतिपय किसानलाई त तरकारी संकलन केन्द्र अगाडि नै छेक्न जान्छन् ।
‘भूकम्प पछिका ३ महिना बेमौसमी तरकारीको उत्पादन भए पनि खपत नभएपछि घैयाको भाउमा बिक्री गरेर घाटा सहेका किसानहरूको यसपालाको नाकाबन्दी पनि स्थितिमा सुधार भएको छ । यतिबेला जसले तरकारी उत्पादन गरेको छ खेर जाने कुरै छैन । भनेजस्तै मूल्य पाएको छ,’ धुसा १ चरौंदीका तरकारी संकलन केन्द्रस्थित साना किसान सहकारीका व्यवस्थापक शिव सिलवालले बताए ।
तराई बन्द र भारतीय नाकाबन्दीले स्थानीय उत्पादन करेला को मूल्य ३० बाट प्रतिकेजी ५०, काँक्रो १० बाट ३५, टमाटर ४० बाट ४५, काउली ३० बाट ५० र सिमी ३० बाट दोब्बर वृद्धि भई ६० पुगेको छ । ‘बरु मूल्य बढे पनि उत्पादनमा कमी र निकासी घटेको छ । यसअघि एक दर्जन ट्रक राजधानी पठाइन्थ्यो भने हाल ५/६ वटा मात्रै पठाइन्छ,’ धार्केस्थित फलफूल तथा तरकारी संकलन केन्द्रका थोक खरिदकर्ता रामप्रसाद रुपाखेतीले बताए ।
साभार ekantipur.com/