जब हामी सानै थियौ गाउँघर तिर कसैलाई गाली गर्नुप¥यो भने तेरो घरमा काला काँग्रेस पसोस् भनेर भन्थे हामी बुझ्दैन थियौ किन यसो भनिदैछ भनेर । अलि पछि फेरी अर्को किंवदन्ती सुरु भएको थियो “घरमा काँग्रेस र सर्प एकैचोटी पस्यो भने पहिला काँग्रेसलाई निकालेर अनि बल्ल सर्पलाई निकाल्नु ।” अहिले आएर काँग्रेसले एकपछि अर्कोगरि गरेको भारतीय दलाली, जनतामारा काम तथा राष्ट्रघाती कर्तुतहरुका कारण सानैमा सुनेको कथनहरु किंवदन्ती नभएर वास्तविकता थियो भनेर विश्वास गर्न बाध्य भएको अवस्था छ ।
जब नेपालले आफ्नै बलबुतामा संविधान जारी ग¥यो आफुलाई नेपालको ठुलादाई सम्झने र नेपालको आन्तरिक मामलामा बारम्बार हस्तक्षेप गर्दै आफु अनुकुल संविधान निर्माण गरि नेपाललाई फिजिकरण गर्दै अन्ततः सिक्किमीकरणको दिशामा लैजान उद्यत भारतीय विस्तारबादले अन्तिम समयसम्म पनि नेपालका राजनैतिक दलका नेताहरुलाई सके प्रलोभन र नसके डर धम्की सवै देखाएर खण्डित गराउने भरमग्दुर कोशिश गरे । संविधान घोषणा हुनुभन्दा एकदिन अघि विदेश सचिव जयशंकरलाई पठाएर समेत संविधान घोषणा रोक्ने कोशिश नगरेको होइन तर नेपालका राजनैतिक दलहरुले खुट्टा नकमाई संविधानसभाको घोषणा गरेरै छोडे । तर विडम्बना आफुलाई दक्षिण एसियाको बादशाह सम्झने भारतीय विस्तारवादले आफ्नै देशमा लागु गर्न नचाहेको एजेण्डाहरु नेपालको संविधानमा नपारिएको निहुँमा रुपमा मधेसी तर सारमा विहारी पार्टीहरुको आन्दोलनलाई कारण देखाउदै अघोषित रुपमा नाकावन्दी गर्न पुग्यो ।
बारम्बार सत्तामा पुगेर आफुलाई भारतीय विस्तारवादको अब्बल दलालको रुपमा प्रमाणित गरिसकेको काँग्रेसले नेपाललाई पुर्ण रुपमा भारत निर्भर बनाएको बुझेको भारतले आफ्ना नाजायज एजेण्डाहरु स्वीकार गराउनको लागि सीमा नाकाहरुमा नेपाल आउने पेट्रोलियम पदार्थ तथा अन्य सामानहरुलाई रोक्ने कुकृत्य गर्न थाल्यो । त्यति मात्रै नभएर भारतीय इशारामा नेपालको तराई भेगमा आन्दोलनरत दलहरुको लागि योजना बनाइदिने, आन्दोलनकारीहरुलाई खाना, बस्न र भत्ताको समेत व्यवस्था गरिदिने, नेपाली सुरक्षाकर्मीहरु माथि आक्रमणको लागि भारतीय प्रहरीको भवन प्रयोग गर्न दिने एवं विशेष गरि पहाडी भेगका नेपालीहरुमाथि सांघातिक आक्रमण गराउन सहयोग गर्ने काम गरिरहेको छ । यी यावत् कुराहरुको संयोजन गरिरहेको भारतीय विस्तारवादले नाकावन्दी नगरेको देखाउन र नेपाली जनताको दैनिक उपभोग्य बस्तुहरु नेपाल प्रवेश गर्न नसक्नुको कारण नेपाल नै हो भन्ने देखाउन अधिक प्रयास गरिरहेको छ । जसलाई मलजल गर्ने र दिलो ज्यान दिएर सहयोग गर्ने काम नेपाली जनताको अभिषाप एवं भारतीय विस्तारवादका असली सेवक तथा वर्तमान सत्ताको ठेकेदार दल काँग्रेसले गरिरहेको छ ।
भारतले नाकावन्दी सुरु गरे लगत्तै आम नेपाली जनताको जनजीवन कसरी सामान्य बनाउने भनेर छलफल तथा योजना कार्यान्वयनमा व्यस्त हुने पर्ने नेपाली काँग्रेसका सभापति एवं देशका प्रधानमन्त्री कैयौ दिनसम्म गायव भए, नेपाली जनताले सरकार छ कि छैन केही भेउ समेत पाउन सकेनन् । जब लामो निद्राबाट प्रधानमन्त्री निस्किए उल्टै भारतीय नाकावन्दीको विरोध नगर्न भनेर हिटलरी फर्मान जारी गरे जनताले यस्तो महसुस गरे कि सुशील कोइराला कुनै सार्वभौम मुलुक नेपालको प्रधानमन्त्री होइन भारतीय प्रान्तको मुख्यमन्त्री हो । त्यसैगरि संयुक्त राष्ट्रसघको महासभामा राष्ट्रप्रमुखको समेत प्रतिनिधत्व गरेर गएका उपप्रधानमन्त्रीले भारतले नाकावन्दी विरुद्ध प्रचार गर्ने तथा अन्तर्राष्ट्रिय सद्भाव लिने र भारतलाई दवाव दिने राम्रो अवसर हुदाहुदै पनि नाकावन्दीको विषयमा एकशब्द पनि उच्चारण गर्न चाहेनन् उल्टै भारतलाई धन्यावाद दिएर फर्किए यो भन्दा ठुलो दलाली र नेपाली जनताको लागि बेइज्जत अरु के हुन सक्थ्यो ?
अझ अर्को चरम भारतीय दलालीको पराकाष्ठा भए काँग्रेसको तर्फबाट संस्कृति मन्त्री बनेका मिनेन्द्र रिजाल । देश भारतीय नाकावन्दीले तहसनहस भइरहेको अवस्थामा कतारको राजधानी दोहामा भारतले नाकावन्दी गरेको छैन नेपाली जनता नै पटमुर्ख हुन् त्यतिकै हावा फिजाइरहेकाछन् भनेर नेपाल फर्किएका मन्त्रीले आफुलाई भारतीय मन्त्रीको जस्तै व्यवहार गर्दै हिन्दी च्यानलहरुलाई स्वेच्छिक रुपमा बन्द गरेका केबुल संचालकलाई २४ घण्टे स्पष्टीकरण सहित हिन्दी च्यानलहरु संचालन गर्न फर्मान जारी गरे तर नेपाल भित्रै कथित मधेसी दलहरुले नेपाली च्यानलहरुलाई बन्देज गरिरहदा एक शब्द पनि नबोली मौन समर्थन गरिरहे । अझ विडम्बनाको कुरा आफ्नै देशको तराई भुभागमा बसोबास गर्ने पहाडी मुलका नेपालीहरु विस्थापित हुदा सहानुभुतिका एकशब्द पनि बोल्न नसक्ने व्यक्तिले भारत, मोदी र नाकावन्दीका विरुद्ध बोल्ने तथा लेख्ने पत्रकारहरुलाई कडा भन्दा कडा कार्वाही गर्छु भन्ने ध्वाँस दिदै हिड्नु आफैमा चरम दास मनोवृति नभएर के हो ?
देश भारतीय विस्तावादले लगाएको नाकावन्दीका कारण अभावग्रस्त र संकटको भुमरीमा फसिराखेको छ । आम नेपाली जनताहरु भारतीय दादागिरीका विरुद्ध र राष्ट्रिय स्वाभिमानका लागि लडिराखेको अवस्थामा त्यही काँग्रेसको कोटाबाट मन्त्री भएका विमलेन्द्र निधी आफुलाई सगर्व भारतपरस्त घोषणा गर्दै राष्ट्रिय महत्वको योजना दीर्घकालीन रुपमा नेपाललाई कंगाल बनाउने हेतुले अझ भनौ राष्ट्रिय महत्वका योजनाहरुमाथि भारतीय एकाधिकार जमाउने विस्तारवादी योजना अनुरुप शिखण्डी बनेर प्रयोग भइरहेका छन् । चाहे देश नै नरहोस् तर काठमाडौ तराई जोड्ने द्रुत मार्ग भारतीय कम्पनीलाई नै सुम्पिनुपर्छ भनेर लागिरहेको छ । देशले भोगिरहेको वेदना भन्दा पनि भारतीयहरुको दलाली सही ढंगले गर्न नपाएको एवं करोडौ भ्रष्ट्राचार गर्न नपाएको झोकमा उक्त कुकृत्यको विरोध गर्ने सवैमा विष बमन गर्दै हिडिरहेको छ ।
यतिबेला देशलाई भारतीय विस्तारबाद विरुद्ध अविराम र निडर ढंगले लड्ने सरकार चाहिएको छ । भारतको नाकाबन्दीलाई काउन्टर दिदै चिनलगायत विश्वको जुनसुकै भागबाट पेट्रोलियम पदार्थ आयत गरेर भएपनि अभावग्रस्त अवस्थालाई सामान्यीकरण गर्नको लागि पहल गर्ने अभिभावक चाहिएको छ नेपाली जनतालाई । तर जनताले अभिभावक ठानेको र सत्ताको ताला चावी लिएर बसेका काँग्रेसका एक से एक व्यक्तिहरुको दलाली चरित्र एकपछि अर्को गर्दै उदांगिदै गइरहेको छ । अर्थमन्त्रीको कुर्सी समातेर बसेका र नेपालकै असफल अर्थमन्त्रीको रुपमा आफ्नो नाम लेखाउन सफल रामशरण महत समेत चिनसँगका नाकाहरु खुलाउनको लागि आफु पनि पहल नगर्ने र पहल गर्नेहरुलाई पनि हतोत्साहित गरेर दलालीको दौडमा सर्वश्रेष्ठ बन्ने होडमा दौडिरहेको छ । एउटा अपराधीलाई प्रहरीले इन्काउन्टर गर्दा डेलिगेसन जाने र मानबअधिकारको हनन भयो भनेर स्याल हुइँया गर्ने काँग्रेसीहरु भारतले नेपाली जनतामाथि थोपरेको अमानवीय नाकाबन्दीमा लाटो र बहिरो बनिरहेको छ । जनता सडकमा आइसकेका छन् । भारतको थिचोमिचोको विरुद्ध नझुक्ने कसम खाइसकेका छन् । जनता अझै केही दिन पैदल हिड्न र भोकै बस्न तयार भएका छन् । तर सरकार भारतको विरुद्ध खबरदारी गर्दा सर्वश्व नै गुम्ने भन्दै थरथर काँपिरहेको छ । अझ काँग्रेस भन्ने पार्टीको सिंगो केन्द्रिय समितिको बैठकले समेत भारतले नाकाबन्दी होइन भनेकोले नाकाबन्दी भन्न नमिल्ने निर्णय गराउनुले काँग्रेस भन्ने पार्टी भारतीय जनता पार्टीको शाखा संगठन हो भन्दा गलत नहोला ।
भारतले गरेको दादागिरीको विरुद्ध अहिलेसम्म अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता भइसकेको हुनुपर्ने हो । नागरिकले केही दिन सास्ती खेपे पनि अहिलेसम्म डिजल पेट्रोल, ग्यास, औषधी लगायतका अत्यावश्यक वस्तु पाउनु पर्ने हो । भारतको आर्शिवादमा सरकारको नेतृत्व गर्ने काँग्रेसीहरु मौन छन, बोल्न आवश्यक ठानिरहेका छैनन ।
सरकार प्रमुख दल भएको हिसाबले पेट्रोलियम पदार्थ लगायतका वस्तुहरु जहाँसुकैबाट भएपनि ल्याउनको लागि पहल गर्नु पर्ने अवस्थामा दिएपछि या नदिएपछि भारतीय विस्तारवादकै खुट्टा समातेर काँग्रेसीहरुले लाचारी र दलाली चरित्र प्रदर्शन गरिरहेका कारण सदियौ देखि नेपाल कसैको दास बनेको इतिहास छैन भनेर गर्व फुल्ने छात्तीहरु लाज र आत्मग्लानीले पानी पानी भएको छ । बारम्बार सत्तामा पुगेका काँग्रेसीहरुकै कारण कहिल्यै दास नबनेका नेपालीहरु दासताको जीवन बाँच्न विवश छन् । सत्ताको लागि दलालीको नीचतासम्म पुग्ने लाचार प्रवृतिका काँग्रेसी अभिभापका कारण हामी नेपालीहरुले झन् भन्दा झन् भारतीय विस्तारवादका पाल्तु जनावरहरुबाट पनि हेपिनु र चेपिनु पर्ने अवस्था सिर्जना भएको छ । जसले गर्दा नेपाली धर्तीमा काँग्रेस भन्ने पार्टी नेपाली जनताको लागि अभिषाप हुने निश्चित छ ।
देशले यतिबेला राष्ट्रिय एकता र सहमति खोजिरहेको छ । एकजुट भएर राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्ने बेलामा आम नेपाली जनताको चासो र सरोकारका मुद्धाहरुलाई लात मार्दै भारतीय विस्तारवादको ग्राण्ड डिजाइनमा फसेर आफुलाई अब्बल दर्जाको दलाल प्रमाणित गर्न खोजिरहेको छ । जसले गर्दा काँग्रेस आफुमात्रै नडुबेर सिंगो देशलाई नै दुर्घटना गराउने निश्चित छ ।