आधुनिक समाजका “निरो”हरु

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ २२, २०७२

हरि नेपाली
hari nepalee“जब प¥यो राती अनि बुढी ताती” भने जस्तै संविधानसभाको म्याद जब घर्किदै जान्छ तब सवै राजनैतिक दलहरुलाई संविधान बनाए पनि नबनाए पनि केही गरेको जस्तो देखाउने चटारोले एकदम दौडधुप गराउछ । पहिलेका संविधानसभाको अवस्था जस्तै यो पटक पनि चार राजनैतिक दलहरुले १६ बुँदे समझदारी गरेर संविधान बनाउने नाटकको मन्चन जोडतोडले गरे तर सत्तालाई केन्द्रविन्दुमा राखेर गरिएको उक्त १६ बँुदे सहमति आपसी खिचतानीका कारण कार्यान्वयनमा जान नपाउदै धर्मराउदो स्थितीमा पुग्यो ।
नामांकन र सिमांकन संविधान जारी भएपछि गर्ने गरि सहमति गरेर संविधान बनाउन अघि बढेका चार ठुला राजनैतिक दलहरु आन्तरिक खिचतानी र विशेष गरि सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेसलाई कुर्सी छोड्नु पर्ने भयका कारण जतिसुकै समय लागे पनि सिमांकन टुङग्याएर जाने अडानका कारण संविधान निर्माणको प्रक्रिया सुरु हुनभन्दा पहिले नै संकटमा परेको छ । एमालेलाई जति सक्दो छिटो संविधान घोषणा गरेर काँग्रेसलाई सरकारबाट हटाएर सत्ताको बागडोर आफ्नो हातमा लिनु छ भने काँग्रेसलाई लगायत राष्ट्रपतिसम्म यो या त्यो बहानामा अझै जागिर टिकाइराख्ने जोडघटाउ गरिरहेका छन् । त्यसैले बाहिर जतिसुकै जोडतोडले संविधान निर्माणमा लागि परेको देखाएपनि सरकारमा रहेका दलहरुको आपसी खिचातानीका कारण संविधान निर्माणको काम अघि बढ्न नसकेको हो भनेर बुझ्दा अनुपयुक्त नहोला ।
विभिन्न जातीय समुह तथा पिछडिएका वर्ग एवं समुदायले अब बन्ने नयाँ संविधानमा आफना मागहरु समेटिनुपर्ने भन्दै विगत लामो समयदेखि सभ्य र सालिन ढंगले आन्दोलन गर्दै आइरहेका थिए तर जब ती मागहरुलाई वेवास्था गर्दै चार दलिय सिण्डिकेट जस्तो–तस्तो संविधान जारी गर्ने बाटोमा अघि बढे त्यसपछि आम जनताको धैर्यताको बाँध टुट्यो । जसले गर्दा आज देश एउटा रणमैदान प्रतित भइराखेको छ । त्यसैलाई आधार बनाएर कैलालीको टीकापुरमा दुई बर्षीय बालक र प्रहरीको एसएसपीसहित आठ जनाको नरसंहार भयो । भलै यसमा आपराधिक समुहहरुको सहभागिता÷घुसपैठ होला नहोला त्यसको रहस्य विस्तारै खुल्दै जाला तर त्यसको प्रमुख कारण भनेको आफुलाई ठालु ठान्ने चार राजनैतिक दलहरु नै हुन् ।
पुर्वदेखि पश्चिमसम्म अखण्ड, थारुहट, मधेसी मोर्चा, लिम्बुवान,दलित, जनजाति लगयात विभिन्न नांममा सदियौदेखि शोषित र उत्पीडित जनताका अधिकार प्राप्तिका आन्दोलन भुसको आँगो जस्तो भित्र भित्रै बढ्दै गइरहेको छ । जसको राप र तापले टीकापुर मात्र नभएर बर्दिया, बारा, वीरगन्ज लगायत विभिन्न घटनाक्रमहरु घटिरहेका छन् । कतै आन्दोलनकारीको नाममा त कतै सुरक्षाकर्मीको नाममा नेपाली नागरिकहरु मर्ने तथा मार्ने क्रम जारी छ । तर सत्तामा बसेका निरोहरु देश जलिरहदा पनि दुइहातले कुर्सीको फेरो मारेर बाँसुरी बजाउन अभ्यस्त छन् । विडम्बना हामीले यिनीहरुलाई नै हाम्रो देश चलाउने ठेकेदार मानेर बस्नु परिरहेको छ ।
अधिकारप्राप्तिका लागि पुर्वदेखि पश्चिमसम्म भएका आन्दोलनहरु नितान्त राजनैतिक हुन् तिनीहरुलाई राजनैतिक तबरले नै पुरा नगरी संविधान निर्माणको प्रक्रिया अघि बढ्न सक्दैन भन्ने ज्ञान सामान्य नागरिकलाई समेत छ । तर सत्ताको तालाचावी लिएर बसेकाहरु राजनैतिक कम र फौजी ढंगले बढी समाधान खोज्न लागि परेका छन् जुन उनीहरुकै लागि आत्मघाती हने निश्चित प्रायः छ । त्यसैमाथि सत्ताको वरिपरि रमाउने कथित बौद्धिक बर्ग र आफुलाई ठुला भनिने राजनैतिक दलहरुले एकले अर्कोलाई चोर औला देखाएर महत्वपुर्ण समय व्यतित गरिरहेको देख्दा लाग्छ यी चाटुकारहरु यही कामका लागि जन्मिएका हुन छन् । आन्दोलनकारीहरुको जायज मागहरुलाई पुरा गर्ने र नाजायज मागहरुलाई निरुत्साहित गर्दै सवै राजनैतिक दलहरुलाई साथमा लिएर अघि बढ्नु पर्ने बेलामा “मेरो गोरुको बाह्रै टक्का” गरेर झन् देशलाई अस्थिरताको भुमरी तिर धकेलिरहेका छन् ।
संविधानसभाको चुनावमा प्राप्त मत परिणामको आधारमा मुल्यांकन गर्ने हो भने कुनै एउटा मात्रै राजनैतिक दलले भने बमोजिम संविधान बन्न सक्ने अवस्था छैन । साथसाथै यथास्थितीवादी तथा प्रतिगामी शक्तिहरुको वर्चश्व संविधान सभामा भएको कारण कुनै परिवर्तनकारी र भिन्न संविधान बन्छ भनेर आशा गर्नु पनि व्यर्थ हुने निश्चित छ । तर पनि करिवकरिब आठ बर्ष लामो संक्रमणमणकालबाट मुक्ति पाइन्छ कि भन्ने झिनो आशा बोकेर आम नेपाली जनतामा जुनसुकै हालतमा संविधान छिटो बनोस् भन्ने भावना मुखरित भएको पाइन्छ । आम नेपाली जनमानसमा जति पनि भावना विकसित भएका छन् त्यसलाई सम्बोधन गर्ने काम विशेष गरि सरकारमा बसेका र संविधानसभामा प्रतिनिधित्व गर्ने ठुला भनिएका दलहरुको हो । यदि दिगो र तल्लो तहसम्मका जनताको प्रतिनिधित्व गर्ने हिसावले संविधान बनाउने हो भने अझ भनौ वास्तविक संविधान बनाउने हो भने अधिकतम उत्पीडित जनताको भावनालाई समेट्नु अनिवाई सर्त हो । अन्यथा जनतालाई मुर्ख बनाउदै आफ्ना व्यक्तिगत र पार्टीगत स्वार्थ पुरा हुने÷गर्ने हेतुले संविधान जारी गर्नतिर लागियो भने दशबर्षीय जनयुद्धको कहर र आठ बर्षसम्मको राजनैतिक खिचातनी झेलेका जनताहरुले अझ कैयौ बर्षसम्म राजनैतिक अस्थिरताको बोझ उठाउनुपर्ने निश्चित छ ।
देश विकासको लागि सही राजनीति अनिवार्य सर्त हो तर अहिलेको अवस्थासम्म आइपुग्दा तमाम नेपाली जनतामा राजनीति, राजनैतिक दल र ती दलका नेतृत्वहरुप्रति घृणा र वितृष्णा बाहेक अरु केही पैदा हुन सकेको छैन । अझ अहिलेको संविधान निर्माणको प्रक्रियासम्म आइपुग्दा केही पिछलग्गु कार्यकर्तालाई विर्सिदिने हो भने राजनैतिक दल र आम जनताबीच कित्ताकाटको स्थिती पैदा हुदै गइरहेका छ । राजनैतिक दलका नेताहरुप्रति विश्वास उजाडिदै गइरहेको छ । जुन सिंगो शासन व्यवस्था प्रति अविश्वास र विद्रोहको संकेत हो । जसलाई उचित सुझबुझका साथ समाधान नगर्ने हो भने देश फेरी पनि अनन्तकालसम्म अन्धकारको भासमा धकेलिने छ । जहाँबाट निस्कनको लागि फेरी कैयौ नेपाली आमाका होनाहार छोराछोरीहरुले आफुलाई बलिबेदीमा होम्नुपर्ने स्थिती आउन सक्छ । जुन कुरा आधुनिक निरोहरुले बेलैमा बुझेर आफुलाई सुधार्न जरुरी छ । जनताप्रति उत्तरदायी हुनु आवश्यक छ ।