हङकङसँग हारेपछि नेपालको विश्वकप यात्रा कठिन

Avatar photo
Dhadingpost
बुधबार, असार ३०, २०७२

काठमाडौं / नेपालको विश्वकप यात्रा कठिन अवस्थामा पुगेको छ । बुधबार भएको खेलमा पनि हङकङसँग ५ विकेटले पराजित भएपछि नेपालको टी-ट्वेन्टी विश्वकप यात्रा संकटमा परेको हो ।
nepVshongkong_Cricket_839988371
आगामी वर्ष भारतमा हुने टी–ट्वेन्टी विश्वकप क्रिकेटमा सहभागी हुन छनौट प्रतियोगिता खेलिरहेको नेपाल हङकङसँग पराजित भएसँगै विश्वकप यात्रा अनिश्चित भएको हो ।

बुधवार राति सम्पन्न खेलमा नेपाललाई ५ विकेटले पराजित गरेपछि समान तीन अंक भएपनि नेट रनरेटका आधारमा हङकङले नेपाललाई उछिनेको हो ।

नेपालले दिएको १ सय १० रनको सामान्य लक्ष्य हङकङले १९ दशमलव १ ओभर खेल्दै ५ विकेटको क्षतिमा भेट्टायो ।

हङकङका ओपनर ब्याटसम्यान इरफान अहमद दोश्रो ओभरमा मात्र १ रन जोडदा सोमपाल कामीको शिकार भएपनि दोश्रो विकेटका लागि अंशुमन रथ र निजाकत खानले ४८ रनको महत्वपूर्ण साझेदारी गरेपछि हङकङ जितको हकदार बन्यो ।

खानले २५ र रथले १९ रन जोडन सफल रहेका थिए । नेपालका लागि बसन्त रेग्मीले ४ तथा सोमपाल कामीले १ विकेट झारेका थिए ।

टस हारी ब्याटिङको निम्तो पाएको नेपालले निकै कमजोर सुरुवात गर्यो‌ । उसले सुरुवाती विकेट निकै सस्तोमा गुमाउन पुगेको थियो । भरपर्दा ब्याटसम्यानहरु सुवास खकुरेल, पारस खडका र ज्ञानेन्द्र मल्ल क्रिजमा टिक्न सकेनन ।

खकुरेल २ , खड्का १ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले खातै खोल्न पाएनन् । उनीसहित चार खेलाडीलाई खाता खोल्न नपाँउदै हसिव हसिव अमजदले पवेलियनको बाटो देखाए ।

लगातारको पराजयले नेपालले विश्वकप गुमाउने सम्भावना बढ्दै गएको छ । चौथो खेल समाप्तीसम्म नेपालले १ मा जित, १ नतिजाविहीन र २ खेलमा पराजय ब्यहोर्दै ३ अंकका साथ पाँचौ स्थानमा छ ।

६ अंकका साथ आयरल्यान्ड समुह ए को शीर्षस्थानमा रहेको छ । त्यस्तै दोश्रोमा ५ अंकका साथ पपुवा न्यु गिनी र तेश्रोमा ३ अंकका साथ नामिविया रहेको छ । तीन देशको समान अंक रहेपनि नेपाल नेट रनरेटका आधारमा पाँचौ स्थानमा धकेलिएको हो ।