नेपालले हरायो अमेरिकालाई

Avatar photo
Dhadingpost
शनिबार, असार २६, २०७२

आईसीसी टी–ट्वेन्टी विश्वकप क्यालिफायर अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।
आयरल्याण्डको स्ट्रोमन्ट बेलफास्टमा अमेरिकाले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले ‍१९ ओभर ४ बलमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालको जीतमा उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरे । उनले ४३ बल खर्चँदै १ छक्का र ६ चौका सहित ५२ रन जोडे । यसैगरी अनिल मण्डलले ४२ बलमा १ चौकासहित २९ रनको योगदान दिए । कुल स्कोर ६ रन हुँदा सागर पुनको विकेट गुमाएको नेपालको पारी मल्ल र मण्डलले सम्हालेका थिए ।
नेपालका लागि बिनोद भण्डारीले ८ बलमा ७ रन जोडे । कप्तान पारस खड्काले १७ बलमा २ चौकासहित २१ रन र शरद भेष्वाकर ३ बलमा २ रनसहित अविजित रहे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा अलआउट हुँदै १२१ रन जोडेको थियो ।
अमेरिकाका लागि डोड्सनले सर्वाधिक ३९ रनको योगदान गरेका थिए । अमेरिकाको पारीलाई सस्तैमा समेट्ने क्रममा नेपालका अनुभवि स्पिनरद्वय शक्ति गौचन र बसन्त रेग्मीले ३–३ विकेट लिए । यसैगरी सोमपाल कामीले २ र सागर पुनले १ विकेट आफ्नो नाममा लेखाए ।
नेपालले आफ्नो दोस्रो खेलमा शनिबार नामिबियासँग खेल्नेछ ।