फुटबलमा इरानसँग नेपाल पराजित

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र १०, २०७१

nepali_football_u-23काठमाडौँ, ९ चैत । एएफसी २३ वर्षमुनिको (यु–२३) फुटबल प्रतियोगिताको छनोटअन्तर्गतको सोमबार भएको पहिलो खेलमा नेपालले आयोजक इरानसँग ५–० को फराकिलो हारको सामना गरेको छ ।
इरानको राजधानी तेहरानस्थित अजादी रङ्गशालामा भएको खेलमा नेपालका रक्षकहरूको गल्तीको फाइदा उठाउँदै इरानले १५ मिनेटमै अग्रता लियोे । अर्को गल्तीस्वरुप डिबक्सभित्र गौरब मगरले गल्ती गरेपछि २७ मिनेटमै इरानले स्पट किकमार्फत दोस्रो गोल थप्यो । मध्यान्तरपछि पनि इरान रोकिएन, उसले ५३, ६७ र ८७ मिनेटमा गोल थप्यो । दुई गोलमा रक्षक अनन्त तामाङको गल्ती रह्यो ।
नेपाली खेलाडीले भने बलियो मानिएको प्रतिद्वन्द्वी इरानविरुद्ध कुनै हेर्नलायक प्रदर्शन गर्न सकेनन् । नेपाली गोलरक्षक विकेश कुथूले भने इरानका केही खतरनाक प्रहार बचाएका थिए । कप्तान जगजीत श्रेष्ठले ७१ औं मिनेटमा पाएको अवसर पनि खेर फालेका थिए । नेपालले आफनो दोस्रो खेल यही चैत ११ गते अफगानिस्तानसँग खेल्नेछ । नेपालका लागि अफगानिस्तान केही सहज प्रतिद्वन्द्वी मानिएको छ । रासस