दुःख गरे कल्लेरी मै सुन फल्छ–राई

Avatar photo
Dhadingpost
शुक्रबार, माघ ९, २०७१

माघ ९ धादिङबेसी । रोजगारीको लागि विदेश नै जानुपर्छ भन्ने मान्यतालाई तोडेर आफ्नै खेतवारीमा पसिना चुहाई सुन फलाउन कल्लेरीका किसान सुकुमबहादुर राईले आग्रह गर्नुभएको छ ।
कल्लेरीमा आफ्नै बारीमा व्यवसायिक सिमी खेती गर्दै आउनुभएका सुकुमबहादुर राईले पछिल्लो समय जिल्लाका युवाहरु विदेश आकर्षित बनेकोले आफूले व्यवसायीक तरकारी खेती सुरु गरेको बताउनुभयो ।
घ्यूसिमी खेतीको लागि कम पानी भए पनि पुग्ने भएकोले आफूले स्थानीय यूवाहरुलाई प्रोत्साहन गर्न खेति गरिरहेको राईले बताउनुभएको छ ।
कम परिश्रम गर्दा पनि मनग्य आम्दानी कमाउन सकिने भएकोले स्थानीय स्तरमै केही गरेर देखाउनुपर्छ भन्ने सोंचमा आफू रहेको बताउँदै उहाँले विदेश जान तयार भएका युवाहरुलाई समेत स्वदेशमै बसेर काम गर्न आगह गर्नुभयो ।
राईले आफ्नै करिब ८ रोपनीको जग्गामा व्यवसायिक रुपमा घ्यूसिमी खेती गरेर ८ जनाको परिवार सहज तरिकाले पालिरहेको समेत बताउनुभयो । गत साउनमा लगाएको सिमीखेती करिब छ महिना सम्म बेचेर एक वर्षमा करिब एकलाखको आम्दानी गर्ने गरेको समेत उहाँको भनाई थियो ।