क्रान्तिकारी स्रष्टाहरू र अबको साहित्य

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २४, २०७१

Khem Thapaliya– खेम थपलिया
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एक पत्रिकालाई अन्तरवार्ता दिँदै ‘नेपालमा जनवादी क्रान्ति करिब करिब पुरा भएको र अब समाजवादी क्रान्तिको तयारी गर्नुपर्छ’ भनेपछि उहाँमाथि लाग्दै आएका आरोपहरूलाई एकमुष्ठ रूपमा उहाँ स्वयम्ले प्रमाणित गरिदिनुभएको छ । यसले पार्टीमा रूपान्तरण, एकता र क्रान्तिको सम्भावनालाई करिब करिब अन्त भएको खोलुवा पनि दिएको छ । यसभित्र यहाँ विसर्जनवादको गर्तमा हाम्फाल्नु त भएकै छ, त्योभन्दा पनि अघि बढेर उहाँले आफूसँगै नेपाली जनवादी क्रान्तिलाई विधिवत् रूपमै विसर्जन गराउने उद्घोष पनि गरेका छन् । यसबाट उहाँ मालेमावादी प्रस्तावनाको ठिक विपरीत ध्रुबमा उभिन पुग्नुभएको देखिन्छ । नीति, नेतृत्व, क्रान्ति, कार्यदिशासम्बन्धी यस्तो निकृष्ट अपव्याख्याले नेपालभित्र मात्र नभएर संसारभरिकै क्रान्तिकारीहरूलाई अत्यन्तै गम्भीर, क्षुब्ध र आक्रोशित बनाएको छ । क्रान्ति र प्रतिक्रान्तिको नेतृत्व गर्ने श्रेय पाएका पुष्पकमल स्रष्टाहरूका लागि सिर्जनाका अजस्र खानी समेत हुन पुगेका छन् । यस्तो परिस्थितिमा अब क्रान्तिकारी लेखकहरूले कस्तो साहित्यिक सिर्जना गर्नुपर्ला ? जिज्ञासाहरू ओइरिएका छन् ।
माक्र्सले मानवीय श्रमिक क्रियाकलापलाई कला साहित्यको उत्पत्तिको कारक बताए । लेनिनले क्रान्तिकारी मजदुर–किसानहरू नै साँचो अर्थमा महान् कलाका अधिकारी हुन् भने । उनले टाल्स्टाय, चेर्नोशेब्स्की, दोस्तोबस्की, हर्जेन लगायतका साहित्यिक कृतिहरूलाई ठूलो परिमाणमा प्रकाशन र बितरण गराए । जनसाहित्य वर्ग सङ्घर्षको अभिन्न अङ्ग हो । लुना चाल्स्र्कीले साहित्यको काम नयाँ मानिस र नवीन जीवन पद्धतिको स्थापना प्रक्रियामा शक्ति र ओज थप्नु हो भनेका छन् । महान् जनयुद्धको क्रममा अभिव्यक्त त्याग, तपस्या, बलिदान, शौर्य र सिर्जनाको उच्च कीर्तिमानीहरूलाई ऐतिहासिक रूपमा स्थापित र जीवन्त बनाउन अबको साहित्यले विशेष भूमिका खेल्नुपर्छ । एउटै पार्टी–सङ्गठनभित्र रहेका सर्वहारा र अरबपतिहरूका बिचबाट जन्मने साहित्यले पार्ने प्रभावबारे अब साहित्य लेखिनु जरुरी छ । आत्मकेन्द्री व्यक्तिवाद, इन्जिनियरिङ सङ्गठनात्मक संरचनाले बनाएको ‘बार्गेनिङ क्लब’ ले रूपान्तरणमा गरेको वाधा व्यवधानबारे लेखिनुपर्छ । क्रान्तिकारीहरूले इतिहासका प्रत्येक घडीमा निरन्तर टेस्ट दिइरहनुपर्छ भन्ने कुरा स्रष्टाहरूमा पनि एकदमै लागू हुने कुरा हो । हाम्रो सिङ्गो आन्दोलनका आदर्श बनेका नेताहरूका ती आदर्शका पीरामिडहरू, बलिदानका ती प्रतिबिम्बहरू आज किन गल्र्यामगुर्लुम ढलिरहेका छन् ! हातमा एक कौडी नहुँदा पनि जनताको सहयोग र पार्टीले अङ्गीकार गरेको सही विचार र कार्यदिशाको बलमा दुश्मनका ठूलठूला सैन्य क्याम्पहरू छिनभरमै ध्वस्त बनाउन सक्ने तागत आज किन धराशायी बन्दैछ ? महान् बलिदानबाट जन्मिएको जनमुक्ति सेनालाई कसले र किन बिक्री ग¥यो ? यसको उत्तर खोजिनु आवशयक छ । अहिले केही मानिसहरू कविता लेख्न छोडेर डकैतमा लागिरहेका छन् । कतै आन्दोलनले डाँका लुटेरा महाकवि, मण्डले नेताहरू त जन्माउँदै छैन ? वास्तवमा अहिलेको अराजकता, सङ्कीर्णता र उदारताले जनसाहित्य वर्णशङ्कर बनिरहेछ । क्रान्तिकारी आबरणको स्तुतिधाराविरुद्ध क्रान्तिकारी पक्षधरहरू वास्तविक रूपमै सशक्त बनेर उभिन आवशयक छ । फरक कित्ताका मानिसहरूको सही पहिचान गर्दै क्रान्तिकारिताको नाममा हुने गनगनको पनि अन्त्य हुनुपर्छ । क्रान्तिकारी लेखकहरूमा वर्गपक्षधरता आवश्यक छ, वर्गप्रतिबद्धता आवश्यक छ र यसमा स्रस्टाहरूको विचारधारात्मक छलाङ पहिलो कडी हो । साहित्यकारहरू नेताको होइन, क्रान्तिको हतियार बन्न जरुरी छ । जनताका लेखकहरू शब्द–कर्मको एकत्वको मान्छे बन्न जरुरी छ ।
नेपालको क्रान्तिकारी लेखन निकै प्रख्यातीको शिखरमा रहेको छ । यो अभियान माओको येनान प्रवचनबाट प्रभावित छ । नेपालका जनसंस्कृतिकर्मीहरू कलम र बन्दुक एकैसाथ लिएर सङ्घर्षमा होमिए । उनीहरू एक किसिमका सांस्कृतिक पल्टन पनि हुन् । सांस्कृतिक पल्टनबारे कमरेड माओले यथेष्ट चर्चा गरेका छन् । वास्तवमा यिनीहरू नेपाली जनताका माझ निकै लोकप्रिय बने । यसले नेपालमा नयाँ इतिहासको निर्माण गर्न निकै महत्वपूर्ण योगदान ग¥यो । यो उचाइको विकासमा कृष्ण सेन ‘इच्छुक’ को निकै ठूलो भूमिका छ । नेपालको क्रान्तिकारी साहित्य ०७ अगावै माओको ‘येनान गोष्ठीमा साहित्य र कलाको प्रवचन’ बारे परिचित भैसकेको थियो । यो प्रवचन नेपालका समाजवादी यथार्थवादी लेखक साहित्यकारहरूका लागि आधारभूत पाठ्यक्रमको रूपमा स्थापित छ । मेक्सिम गोर्की, हार्वड फास्ट, लु सुन, प्रेमचन्द साहित्यकारहरूबाट प्रभावित नेपालका क्रान्तिकारी साहित्यकारहरू पछिल्लो चरणमा कृष्ण सेन ‘इच्छुक’ बाट निकै प्रभावित छन् । उसो नेपाली साहित्यकारहरू नक्सलवादी आन्दोलनबाट प्रभावित नभएका होइनन् । नक्सलवादी आन्दोलनमा सहादत प्राप्त गरेका क्रान्तिकारी लेखकहरूबाट पनि यो पङ्क्ति प्रेरित रह्यो । अझ चीनको महान् सर्वहारा सांस्कृतिक क्रान्तिबाट नेपालका क्रान्तिकारी साहित्यकारहरू अत्यन्त प्रभावित छन् । जनयुद्धले यो पङ्क्तिलाई प्रशस्त ऊर्जा दियो भने यो पङ्क्तिले पनि जनयुद्धलाई उत्तिकै ऊर्जा दिएको पनि यथार्थ हो । जनयुद्धले क्रान्तिकारी लेखकहरूलाई आफ्नो लेखनधर्मितामा नवीन यथार्थका माध्यमबाट नयाँ विषय, नयाँ लेखन सामग्री र नयाँ लेखन उद्देश्य दिएको छ । आधार इलाका, जनसेना, समग्र जनजागरण आदि यसको प्रेरक मूल्यहरू हुन् । यो पङ्क्तिले आफ्नो साहित्यमा बन्दुक, छापामार, युद्ध, आमूल परिवर्तन, रूपान्तरण, बलिदानबारे सामग्री बनाएका छन् ।
नेपालमा ०६ सालमा नेकपाको स्थापनासँगै सामान्तवाद–सामाज्यवाद विरोधी सौन्दर्य चेतनाका प्रवेश भएको हो । ती विभिन्न सङ्घर्षहरूको संश्लेषणको उच्च रूप जनयुद्ध थियो । जनयुद्ध महान्, अद्वितीय र भव्य थियो । यसले सामन्तवादी, साम्राज्यवादी, विस्तारवादी तथा सबैखाले शोषण दमनको अन्त्य गरेर नेपालमा जनगणतन्त्र स्थापना गर्ने लक्ष्य लियो । यो अभियानमा ‘रातो लालटिन’ र ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ को आदर्शलाई पछ्याइयो । क्रान्तिकारी सिद्धान्तहरूलाई पछ्याउँदै त्यसैको जगमा त्याग, बलिदान, वीरता, शौर्य र धीरताको महान् पीरामीड खडा भयो । महान् जनयुद्धको जगमा विकास भएको जनआन्दोलनले राजतन्त्रलाई समाप्त पा¥यो यद्यपि मुलुकको आधारभूत संरचनामा कुनै परिवर्तन आएन । यतिखेर नेपालकोे अर्धसामन्ती–अर्धऔपनिवेशिक अवस्थाको अन्त्य गरी जनगणतन्त्रको ढोका खोल्ने जनताको विद्रोहको नेतृत्व गर्ने तयारीमा क्रान्तिकारीहरू छन् । नेपालका क्रान्तिकारी लेखक साहित्यकारहरूले सिर्जना गर्ने साहित्यको अहिलेको आधारभूत जग यही हो । जनयुद्धको सौन्दर्यशास्त्रको रूपमा रहेको यो समाजवादी यथार्थवादी सबैभन्दा वैज्ञानिक रचना विधि भएकोले यसले कुरूप संसारको ध्वंस र नयाँ निर्माण गर्ने लक्ष्य बोकेको यो मूलतः जनयुद्धको सौन्दर्यशास्त्र मूलतः पुरानोको ध्वंस, अग्रगमन र नवनिर्माणको सौन्दर्यशास्त्र हो । यो क्रान्ति र अग्रगामी परिवर्तनको सौन्दर्यशास्त्र पनि हो । कला साहित्य मूल्याङ्कनको आधारभूत मापदण्ड सत्य, शिव र सुन्दर हुन् । जनयुद्धको सौन्दर्यशास्त्रीय मूल्यहरू श्रमजीवी मुक्तिकामी जनताका आकाङ्क्षा र हितबाट निर्देशित छन् । तिनमा राष्ट्रियताको प्रखर स्वर, अन्तर्राष्ट्रिय चेतना आदि प्रबल भएको पाइन्छ । स्रष्टाहरूले नेतृत्वको साम्राज्यवाद–विस्तारवादको दलालीकरण, नेतृत्वको सर्वसत्तावादी चिन्तन र नोकरशाही कार्यशैलीका विरुद्धको लेखकीय कार्यदिशा बनाउन आवश्यक छ । वास्तवमा शान्तिकालीन साहित्यमा क्रान्तिकारी आत्मा कमजोर भएकोले कालजयी साहित्यको सिर्जना गरी वर्तमानप्रतिको अतिशय मोह र निरपेक्षवादी चिन्तनलाई ध्वंस गर्दै सवल क्रान्तिकारी आत्मा भएका साहित्यिक सिर्जनामा विशेष ध्यान दिन जरुरी छ ।
वर्ग सङ्घर्ष ज्ञानको स्रोत हो । कुनै पनि स्रष्टाले वर्गसङ्घर्षमा आफ्नो हिस्सेदारी लिइरहेकै हुन्छ । त्यो साहित्यमा प्रतिबिम्बित हुन्छ । सम्झौताहरूलाई क्रान्तिकारी देख्ने र सङ्घर्षलाई गौण ठान्ने, जीवनका नाममा भ्रष्टाचारलाई वस्तुगत ठान्ने र सिद्धान्तनिष्ठतालाई जडसूत्रवाद देख्ने, सामाजिक सङ्गठन होइन, नेतापरायण सङ्गठनको परिकल्पना गर्ने कला साहित्यको विरुद्ध सङ्घर्ष गर्दै विचार अनुरूपको सङ्गठन, सिद्धान्त अनुसारको जीवन, व्यापक जनसमुदायको मुक्तिकामी सपनाका साथ अघि बढेर साहित्यको सिर्जना गर्नुपर्छ । यो अन्ततः वर्गसङ्घर्ष र वर्गसमन्वय, क्रान्ति र प्रतिक्रान्ति, जीवन र मृत्यु बिचको भीषण लडाइँ नै त हो । दुनियाँमा कहिले पनि प्रतिक्रान्तिकारीहरूले ‘म दक्षिणपन्थी भएँ, म विर्सजनवादी भएँ, मैले जनताका सत्रुसँग सम्झौता गरेँ’ भन्दैनन् । वर्गसङ्घर्षबाट वर्गसमन्वय हुँदै सम्झौतावादमा फसाउने षड्यन्त्र भइरहेको । यो बहुलवादी सौन्दर्य चिन्तनमा आधारित छ । एकपटक क्रान्तिनायक भएको मानिस सधैँ क्रान्ति नायक भैरहँदैनन् भन्ने कुरा उजागर गर्न पनि आवश्यक छ । आलोचनात्मक सिर्जनात्मक भूमिकाले क्रान्तिकारीहरूमाथि लाग्दै आएका र लाग्न सक्ने आरोपहरूको खण्डन मण्डनमा विशेष भूमिका निर्वाह गरिरहेको हुन्छ । साहित्यमा वर्गसङ्घर्ष, वर्ग समन्वय र अन्तरसङ्घर्षका क्रममा हुने अभिव्यक्ति लुनाचास्र्कीको प्रतिबिम्बनको सिद्धान्तमा आधारित छ । अहिले पनि परिवर्तन र नयाँ निर्माणका आकाङ्क्षीहरू क्रान्तिको तारिफ गरेर साहित्य लेखिरहेका छन् । ध्वंस र निर्माणको खुसीयाली, त्याग, तपस्या, बलिदान र शौर्यको उच्च मूल्यका साथ साहित्य सिर्जना गर्न क्रान्तिकारी साहित्यकारहरू विशेष रूपले लाग्न जरुरी छ । यसले क्रान्तिकारी विचारको, क्रान्तिकारी मूल्यको, महान् सहिदहरूको सपनालाई साकार पार्ने कुरालाई सशक्त ढङ्गबाट उठाएको छ ।
नयाँ निर्माणका चहकिला सफलताहरूका पक्षमा साहित्य लेख्ने साहित्यकारहरू मूलतः एकीकृत नेकपा (माओवादी) सम्बद्ध क्रान्तिकारी साहित्यकारहरू रहेका छन् तर केही मुट्ठीभरका गणेशहरू ‘बाबुराम र प्रचण्ड’ लाई ‘सुमेरु पर्वत’ मान्दै फन्को मारिरहेछन् । यिनीहरूले ‘जेपी गुप्ता र विजयकुमार गच्छेदार’ को स्तुति गर्न पनि भ्याएका छन् । विसर्जनवादीहरूको यस्तो हर्कतलाई खारेज गर्दै जनताको महान् युद्धले खडा गरेको पूर्ण क्रान्तिको आधारशिलालाई सबलीकृत गर्नु यो कित्ताका लेखक साहित्यकारहरूको आफ्नो अभीष्ट मानेका छन् । अधिकांश क्रान्तिकारी लेखक साहित्यकारहरू क्रान्तिको पूर्णताको निमित्त जनविद्रोहको पक्षमा कलम चलाइरहेका छन् । कथित शान्ति र संविधानको पक्षमा सिर्जना गर्नु शोक साहित्यको प्रवद्र्धन गर्नु हो । शोकसाहित्य पराजित साहित्यिक कर्म हो । आज ‘बाबुराम–प्रचण्ड’ मण्डलीहरू शोकसाहित्य लेखिरहेका छन् । विजयी गीत त क्रान्तिकारीहरूले मात्र गाउन सक्छन् । हिजो जनयुद्धलाई सत्तोसराप गर्नेहरू र जनयुद्धमा हत्केलामा प्राण राखेर लड्नेहरू एउटै लाइनमा पङ्क्तिबद्ध हुनुले गम्भीर नैतिक सङ्कट ल्याइदिएको पक्कै हो । एकता–सङ्घर्ष–रूपान्तरणको सट्टा वर्गसमन्वयोन्मुखता विसर्जनवादी–प्रतिक्रान्तिकारीहरूको अभीष्ट बन्न पुगेको छ तर पनि पार्टीभित्रका अत्यधिक ठूलो सङ्ख्यामा रहेका क्रान्तिकारीहरूमा उच्च नैतिकता, उच्च साहस र क्रान्तिलाई पूर्णता दिने उच्च प्रतिबद्धता ज्यूँकात्यूँ छ ।
अहिले श्रमसित जोडिएका तल्लो वर्गका पात्र र विषयहरूमा लेखिएका साहित्य उपल्लोवर्गका लागि मनोरञ्जनका सामग्री बनाइने परम्पराका विरुद्ध मजदुर किसानहरूका विषयहरू, तिनका सङ्घर्षका महान् गाथाहरू समेटेर जनसाहित्यको लेखनमा तीब्रता आएको त छ तर के यसो मात्रैले जनसाहित्य हुन्छ ? अधिकांश कृतिहरूले जनताका मुखमा शब्दहरू थुपारेर दर्शकहरूको भावनालाई अघि सारेका मात्र हुन् कि भन्ने प्रतीत हुन्छ । अधिकांश लेखकहरू गरिब, किसान, मजदुरहरूभन्दा धनी नै छन् । सापेक्षित रूपमा यो पङ्क्तिको आर्थिक अवस्था सुदृढ छ । कमसेकम यो पङ्क्तिसित किताब किन्ने पैसा छ । घरमा ल्यापटप, कम्प्युटर छ । तिनीहरू मोटर चढ्छन् । कतिपयले ट्याक्सीदेखि पजेरोसम्मको यात्रा गर्न भ्याउँछन् । यो पङ्क्तिबाट लेखिएका साहित्यले जनतालाई सायदै कति छोएका होलान् ! त्यसैले भन्न सकिन्छ कि हाम्रा साहित्य गोलाबारुद हुन जरुरी छ जसले क्रान्तिलाई पूर्णतातिर लैजान उत्प्रेरित गरोस् । अहिले तिन खराबी र पाँच खराबीभन्दा चर्का खराबीहरू पार्टी केन्द्रमा केन्द्रीकरण भएको छ । पार्टी भनेको मुख्यतः विचार, सिद्धान्त र कार्यदिशा नै हो । वर्ग अन्तरघात र राष्ट्रिय आत्मसमर्पणवादको दिशामा जानबाट रोकेर नै पार्टीलाई क्रान्तिकारीकरण र एकताबद्ध गर्न सम्भव छ । यसर्थ, वास्तविक शान्ति क्रान्ति पश्चात मात्र हुन्छ, क्रान्तिविना शान्तिको कल्पना पनि गर्न सकिँदैन । अबको साहित्य यो दिशामा लेखिनु आवश्यक छ ।
क्रान्तिकारी पार्टीको सदस्यताका आधारमा मात्र क्रान्तिकारी साहित्य लेखिन सम्भव छैन । २०४६ पश्चात एमाले निकटका कुनै पनि साहित्यकारले समाजलाई रूपान्तरण गर्ने खालका नयाँ र उल्लेख्य कृति लेख्न नसके जस्तै विचारको परित्याग गर्दै गइरहेका एकथरि विसर्जनवादी–संशोधनवादी माओवादी स्रष्टाहरूले सामाजिक रूपान्तरणलाई कला साहित्यको माध्यमबाट कुनै नयाँ सिर्जना दिन सक्नेछैनन् । सिर्जना विचारको प्रश्न हो । जति पढिए पनि खगेन्द्र सङ्ग्रौलाहरूबाट ‘जुनकिरीको सङ्गीत’, प्रदिप नेपालहरूबाट ‘आकाश गङ्गाको तिरैतिर’ आए जस्तै कुनै दिन वर्गसङ्घर्ष विरोधी घातक सिर्जना क्रान्तिकारी आवरणका स्रष्टाहरूबाट आउन सक्ने प्रवल सम्भावना यो वैचारिक स्खलनको यात्राले स्पष्ट रूपमा देखाएको छ । उदाहरणका लागि ‘अष्टधातुले बनेका प्रचण्ड’ शीर्षक कवितालाई लिन सकिन्छ । तसर्थ, फेरि एकपटक स्रष्टाहरू उत्पादनकर्ता, प्रचारकर्ता, सङ्गठनकर्ता र फौजीकर्ताको अर्थात चारकर्ताको भूमिकामा आफूलाई सशक्त ढङ्गले उभ्याउन जरुरी भएको छ । सही क्रान्तिकारी कार्यदिशाले मात्र भीमसेनी तागत पैदा गराउँछ । यसको निमित्त क्रान्तिकारी स्रष्टाहरूले कला साहित्यको वैचारिक झन्डालाई निरन्तर रूपमा उठाइराख्ने मालेमावादी प्रस्तावनालाई आत्मसातीकरण गर्नु अनिवार्य शर्त हो ।