हरिभक्त मगरातीद्वारा मिलिजुली युवा क्लबका खेलाडीलाई जर्सी सहयोग

Avatar photo
Dhadingpost
कार्तिक २, २०८३

धादिङ । साउदी अरबमा रहेका धादिङको ज्वालामुखी गाउँपालिका–७ निवासी हरिभक्त मगरातीले मिलिजुली युवा क्लबका खेलाडीलाई फुटबल जर्सी सहयोग गर्ने भएका छन् ।

कार्तिक ६ गतेदेखि ज्वालामुखी गाउँपालिका–७, धारापानी खेल मैदानमा  हुन लागेको लगनशील युवा क्लबद्वारा आयोजित १३औँ अनकन्या कप फुटबल प्रतियोगितामा सहभागी हुने मिलिजुली युवा क्लबका खेलाडीलाई मगरातीले जर्सी सहयोग गर्न लागेका हुन् ।

आफ्नो गाउँमा विभिन्न सामाजिक तथा शैक्षिक गतिविधिमा सहयोग गर्दै आएका मगरातीले केही दिनअघि मात्रै सालबास माध्यमिक विद्यालय र नवोदित आधारभूत विद्यालयका विद्यार्थीलाई झोला, ट्र्याकसुट तथा शैक्षिक सामग्री प्रदान गरेका थिए ।

उनले विगत केही वर्षदेखि हरेक वर्ष सालबास माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी हुने विद्यार्थीलाई परीक्षा केन्द्रसम्म पुग्न यातायातको सुविधासमेत उपलब्ध गराउँदै आएका छन् ।

विदेशमा रहेर पनि आफ्नो गाउँका खेलाडी, विद्यार्थी तथा समुदायलाई निरन्तर सहयोग गर्दै आएका मगरातीको यस पहलले खेलाडीलाई प्रोत्साहन मिल्नुका साथै स्थानीय खेलकुदको विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।