धादिङका कांग्रेस नेता बद्री अर्यालका दुई पुस्तक विमोचन

Avatar photo
Dhadingpost
अशोज १५, २०८३

काठमाडौं । धादिङका नेपाली कांग्रेस नेता बद्री अर्यालद्वारा लिखित दुई पुस्तक ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ विमोचन गरिएको छ ।

जय नेपाल फाउण्डेशनको आयोजनामा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले दुवै पुस्तक संयुक्त रूपमा विमोचन गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि पौडेलले लेखक अर्यालसँग आफूले विगत ३५ वर्षदेखि सहकार्य गर्दै आएको बताए । उनले अर्यालसँगको लामो सहकार्य र राजनीतिक यात्राको स्मरण गर्दै पुस्तकमार्फत आर्थिक तथा राजनीतिक विषयमा गरिएको बहस महत्वपूर्ण रहेको धारणा राखे ।

पुस्तक विमोचन कार्यक्रममा पौडेलले राजनीतिक आन्दोलन र बहसलाई अधिकार प्राप्तिमा मात्र सीमित नराखी मुलुकको आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका छन् । राजनीतिक दलका घोषणापत्र तथा सरकारका प्राथमिकतामा आर्थिक एजेन्डाले पर्याप्त स्थान पाउन नसकेको उनको भनाइ थियो ।

‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ पुस्तकमा नेपालको आर्थिक विकास, लगानी र समृद्धिसँग सम्बन्धित विषय समेटिएको छ भने ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’मा राजनीतिक पक्षसँग सम्बन्धित विषयलाई समेटिएको बताइएको छ ।

दुवै पुस्तकका प्रकाशक हरि पराजुली रहेका छन् । जय नेपाल फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

बद्री अर्याल धादिङका नेपाली कांग्रेस नेता हुन् ।