
विकासशील देशहरूमा पशु बध तथा मासु प्रशोधनका क्रममा पशुलाई बेहोस बनाउने, छाला निकाल्ने, आन्तरिक अंग हटाउने, रगत बगाउने, झुण्ड्याउने, धुने, काट्ने र हड्डी छुट्याउनेजस्ता प्रक्रिया अपनाइन्छन् । यीमध्ये प्रत्येक चरणमा मासुमा सूक्ष्मजीव तथा अन्य प्रदूषक प्रवेश गर्ने जोखिम हुन्छ । कमजोर पूर्वाधार, अस्वच्छ वातावरण र गलत ह्यान्डलिङका कारण मासु रोगजनक सूक्ष्मजीवबाट दूषित हुन सक्छ, जसले उपभोक्ताको स्वास्थ्यसँगै मासुको गुणस्तर र बजार मूल्यमा समेत असर पुर्याउँछ ।
मासु मानव आहारको महत्वपूर्ण हिस्सा हो । विशेषगरी विकासशील देशहरूमा शहरीकरण, जनसंख्या वृद्धि, बदलिँदो जीवनशैली र आर्थिक अवस्थासँगै मासुको माग बढिरहेको छ । मासु प्रोटिन, भिटामिन र खनिजको महत्वपूर्ण स्रोत भए पनि पशुजन्य खाद्य पदार्थ सूक्ष्मजीवको संक्रमण तथा अन्य कारणले छिटो बिग्रने भएकाले यसको उत्पादनदेखि उपभोगसम्म स्वच्छता र खाद्य सुरक्षा अत्यन्त महत्वपूर्ण हुन्छ ।
काँचो मासु साल्मोनेला, ई. कोलाई, क्याम्पिलोब्याक्टर, स्टेफाइलोकोकस लगायतका रोगजनक सूक्ष्मजीवबाट दूषित हुन सक्छ । यस्ता सूक्ष्मजीव हावा, पानी, माटो, औजार, कामदारको हात तथा अस्वच्छ सतहबाट मासुमा पुग्न सक्छन् । त्यसैले बधशालामा हुने हरेक गतिविधिलाई खाद्य सुरक्षा र जनस्वास्थ्यसँग जोडेर व्यवस्थापन गर्न आवश्यक छ ।
नेपालमा चुनौतीपूर्ण अवस्था
नेपालका धेरै परम्परागत बधशालामा सरसफाइ, ढल निकास, फोहोर व्यवस्थापन, पशु स्वास्थ्य परीक्षण र मासु ह्यान्डलिङको अवस्था अझै सुधार गर्नुपर्ने देखिन्छ । कतिपय स्थानमा खुला वा असुरक्षित ठाउँमा पशु काट्ने, फोहोर टेबलमा मासु राख्ने, अपर्याप्त पानी प्रयोग गर्ने र कमजोर उपकरणबाट तौल तथा बिक्री गर्ने अवस्था पाइन्छ ।
बधशालाबाट निस्कने रगत, आन्तरिक अंग तथा फोहोरपानीको उचित व्यवस्थापन नहुँदा वातावरणीय प्रदूषणको जोखिम पनि बढ्छ। त्यस्तै, अस्वच्छ गाडा, ठेला वा पर्याप्त सुविधा नभएका सवारीसाधनबाट मासु ढुवानी गर्दा बाटोमै थप संक्रमण हुने सम्भावना रहन्छ ।
यस्ता अभ्यासले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्छ । विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा खाद्यजन्य संक्रमण गम्भीर हुन सक्छ ।
स्वच्छ र व्यवस्थित बधशाला आवश्यक
नेपालमा खुला स्थान, नदी किनार वा असुरक्षित वातावरणमा पशु काट्ने अभ्यासलाई क्रमशः अन्त्य गर्दै मापदण्डयुक्त आधुनिक बधशाला निर्माण र सञ्चालन गर्न आवश्यक छ ।
पशु काट्नुअघि पूर्व–मोर्टेम (Ante-mortem) र काटिसकेपछि पोस्ट–मोर्टेम (Post-mortem) स्वास्थ्य परीक्षण अनिवार्य गरिनुपर्छ । पशु चिकित्सक वा प्राविधिकको परीक्षणपछि रोगमुक्त तथा उपभोगका लागि योग्य मासु मात्र बजारमा पठाउने व्यवस्था हुनुपर्छ ।
बधशालामा सफा पानी, कीटाणुरहित औजार, सफा पोसाक, पञ्जा, बुट र टोपीको प्रयोग सुनिश्चित गर्नुपर्छ। कामदारलाई व्यक्तिगत सरसफाइ, पशु बध, मासु काट्ने, ह्यान्डलिङ र भण्डारणसम्बन्धी नियमित तालिम दिनुपर्छ ।
सूक्ष्मजीव नियन्त्रण र कोल्ड चेन
मासुको गुणस्तर कायम राख्न बधशाला, औजार, टेबल र भण्डारणस्थललाई नियमित रूपमा सफा तथा स्यानिटाइज गर्नुपर्छ । मासु धुने तथा सरसफाइका लागि सुरक्षित र स्वच्छ पानीको निरन्तर आपूर्ति हुनुपर्छ ।
बधपछि मासुलाई लामो समय सामान्य तापक्रममा राख्दा जीवाणु वृद्धि हुन सक्छ । त्यसैले कोल्ड चेन अर्थात् शीत शृंखलाको व्यवस्था गरी मासु तुरुन्तै उचित तापक्रममा भण्डारण तथा ओसारपसार गर्न आवश्यक छ । बिक्री केन्द्रमा समेत फ्रिज वा अन्य उपयुक्त शीत भण्डारणको व्यवस्था गरिनुपर्छ ।
फोहोर व्यवस्थापन र वातावरण संरक्षण
बधशालाबाट निस्कने रगत, आन्तरिक अंग, हड्डी तथा फोहोरपानी जथाभावी नदी, खोल्सा वा जमिनमा मिसाउन रोक्नुपर्छ । सम्भव भएसम्म यस्ता फोहोरलाई बायोग्यास, जैविक मल वा प्रशोधन प्रणालीमार्फत व्यवस्थापन गर्न सकिन्छ ।
फोहोरपानीका लागि उपयुक्त वाटर ट्रिटमेन्ट प्रणाली निर्माण गरी बधशालालाई वातावरणमैत्री बनाउन आवश्यक छ ।
मासु बजारीकरणमा पनि सुधार
मासु उत्पादनसँगै यसको बजारीकरण र आपूर्ति शृंखलामा पनि सुधार आवश्यक छ । मासुको गुणस्तर, स्वच्छता र ताजापनका आधारमा मूल्य निर्धारण गर्ने प्रणाली विकास गर्नुपर्छ । प्राविधिक परीक्षणबाट योग्य मासुलाई प्रमाणित तथा लेबलिङ गर्ने व्यवस्था गर्न सके उपभोक्ताले सुरक्षित मासु पहिचान गर्न सक्छन् ।
किसानदेखि उपभोक्तासम्मको आपूर्ति शृंखला व्यवस्थित गर्दै अनावश्यक बिचौलियाको भूमिका घटाउन सके उत्पादकले उचित मूल्य र उपभोक्ताले उचित मूल्यमा गुणस्तरीय मासु पाउने वातावरण बन्न सक्छ ।
कानून र अनुगमनमा कडाइ
पशु बधशाला र मासु ऐन, २०५५ लगायत विद्यमान कानूनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ । संघ, प्रदेश र स्थानीय तहले आफ्नो जिम्मेवारीअनुसार नियमित अनुगमन गर्नुपर्छ ।
मापदण्ड पूरा नगर्ने बधशाला तथा मासु पसललाई कारबाही, दर्ता तथा नवीकरणमा कडाइ र गुणस्तरहीन, बासी वा रोगी पशुको मासु बिक्री गर्ने व्यवसायीलाई कानूनी दायरामा ल्याउनुपर्छ ।
उपभोक्ता र व्यवसायी दुवै सचेत हुनुपर्छ
मासु व्यवसायीलाई स्वच्छता, सुरक्षित कटान, ह्यान्डलिङ, भण्डारण र ढुवानीसम्बन्धी तालिम दिनुपर्छ । उपभोक्तालाई पनि खुला, धुलोमैलो वा अस्वच्छ स्थानमा राखिएको मासु नकिन्न र सुरक्षित तथा प्रमाणित मासु प्रयोग गर्न सचेत बनाउन आवश्यक छ ।
नेपालमा सुरक्षित मासु उत्पादन र बजारीकरणका लागि आधुनिक बधशाला, स्वच्छता, कोल्ड चेन, उचित फोहोर व्यवस्थापन, नियमित स्वास्थ्य परीक्षण, दक्ष जनशक्ति, प्रभावकारी कानून र निरन्तर अनुगमन एकसाथ अघि बढाउनुपर्छ ।
सरकारी लगानी र नीतिगत सुधारसँगै निजी क्षेत्र र स्थानीय तहको सहकार्य आवश्यक छ । यसो गर्न सके मात्र मासुको गुणस्तर सुधार, उपभोक्ता सुरक्षा, वातावरण संरक्षण र जनस्वास्थ्य प्रवर्द्धनलाई प्रभावकारी रूपमा अघि बढाउन सकिन्छ ।
