
धादिङ । बेनीघाट रोराङ गाउँपालिका–७, चरौंदीस्थित राईजिङ स्टार इङ्ग्लिस बोर्डिङ स्कुलले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयका विद्यार्थी उम्मिद थपलियाले ४.०० जिपिए ल्याउँदै विद्यालयको इतिहासमै पहिलो पटक पूर्ण जिपिए प्राप्त गर्न सफल भएका हुन् ।
विद्यालयले सार्वजनिक गरेको नतिजाअनुसार अधिकांश विद्यार्थीले उत्कृष्ट जिपिए हासिल गरेका छन् । यस वर्ष विद्यालयबाट सहभागी १६ जना विद्यार्थी सबै उत्तीर्ण भएका छन् ।
विद्यालयका प्रिन्सिपल टिका थपलियाका अनुसार विद्यालय २०६१ सालमा स्थापना भएको हो भने २०७० सालदेखि १० कक्षा सञ्चालन हुँदै आएको छ । “विद्यालय सञ्चालनको सुरुवातदेखि नै हरेक वर्ष शतप्रतिशत नतिजा दिँदै आएका छौं । तर ४ जिपिए आएको यो पहिलो पटक हो,” उनले बताए ।
यस वर्ष ४ जिपिए ल्याउने उम्मिद थपलियासहित अन्य विद्यार्थीहरुले पनि राम्रो नतिजा ल्याएका छन् । दिवस उप्रेतीले ३.९५, अनिशा गिरीले ३.६३, अनुपा ढकालले ३.६७, समिक्ष्या न्यौपानेले ३.७०, समिर गैरेले ३.६७ र उर्वशी रुवालीले ३.७० जिपिए प्राप्त गरेका छन् ।
विद्यालयले निरन्तर गुणस्तरीय शिक्षामा जोड दिँदै आएको र शिक्षक, अभिभावक तथा विद्यार्थीको संयुक्त मेहनतका कारण उत्कृष्ट नतिजा सम्भव भएको विद्यालय प्रशासनले जनाएको छ ।
