
धादिङ । बैशाख ४ गतेदेखि बेनीघाट रोराङ गाउँपालिका–स्थित विशालटार खेलमैदानमा सञ्चालन भएको जिल्ला स्तरीय अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको उपाधि गल्छी गाउँपालिकाले जितेको छ ।
फाइनल खेलमा धुनीबेसी नगरपालिकाले दिएको १०७ रनको लक्ष्य गल्छीले १४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्दै उपाधि हात पारेको हो । उत्कृष्ट प्रदर्शनसहित जित हासिल गर्दै गल्छी प्रतियोगिताको च्याम्पियन बन्न सफल भयो ।
उपाधिसँगै गल्छीले नगद ५५ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता धुनीबेसीले २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
विजेता तथा उपविजेता टोलीलाई प्रमुख अतिथि नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द ले शिल्ड, मेडल तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा सेमिफाइनलमा रोकिएको बेनीघाट रोराङ गाउँपालिकाका खेलाडी एञ्जल सिलवाल उत्कृष्ट खेलाडी तथा उत्कृष्ट ब्याटर घोषित भए । उनले प्रतियोगिताभर २०७ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरेका हुन् । उत्कृष्ट ब्याटर घोषित सिलवाललाई जिल्ला खेलकुद विकास समिति धादिङ का अध्यक्ष प्रतापसिंह तामाङ ले ब्याट प्रदान गरेका छन् ।
त्यस्तै दिपेश सेडाईले १२.४ ओभरमा १२ विकेट लिँदै ५.२९ इकोनोमीका साथ उत्कृष्ट बलरको उपाधि जिते, जसले उनको निरन्तर उत्कृष्ट प्रदर्शनलाई प्रमाणित गर्दछ।


पुरस्कार वितरण समारोहका अवसरमा जिल्ला क्रिकेट संघ धादिङ ले धादिङ समाज अमेरिका र धादिङ समाज जापान को सहयोगमा प्रदेश स्तरीय प्रतियोगिता खेलिसकेका सिद्धलेक गाउँपालिका निवासी सानीया गिरी र नीलकण्ठ नगरपालिकाकी अप्सरा मगर लाई क्रिकेट खेल सामग्री प्रदान गर्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै क्यानका अध्यक्ष चन्दले धादिङ जिल्ला क्यानको सदस्यता प्राप्त गर्ने तयारीमा रहेको तर प्राविधिक कारणले प्रक्रिया रोकिएको उल्लेख गर्दै अब छिट्टै सदस्यता प्रदान गरिने बताएका थिए ।
जिल्लाका १३ स्थानीय तहमध्ये ८ पालिकाको सहभागिता रहेको प्रतियोगिता प्रतिस्पर्धात्मक बनेको आयोजकले जनाएको छ ।
