सभामुख डोल प्रसाद अर्याल आज धादिङ आउँदै, धादिङबेसी र ज्वालामुखीमा कार्यक्रम

Avatar photo
Dhadingpost
चैत्र २९, २०८२

धादिङ । प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्याल आज धादिङ भ्रमणमा आउने भएका छन् । ज्वालामुखी गाउँपालिका अन्तर्गत रहेको बराहकाली माध्यमिक विद्यालयमा आयोजना हुन लागेको “स्वच्छ सफा पालिका घोषणा कार्यक्रम” मा उहाँ प्रमुख अतिथिको रूपमा सहभागी हुने कार्यक्रम रहेको छ ।

सभामुख अर्यालको आजको भ्रमण तालिका अनुसार बिहान ८:३० देखि ९:०० बजेसम्म ट्रिपल क्राउन मस्टारमा नास्तासहित भेटघाट कार्यक्रम रहनेछ । त्यसपछि बिहान ९:५० बजे ससाह नजिकै कमेरे क्षेत्रमा निर्माणाधीन उद्योगको संक्षिप्त अवलोकन गर्ने कार्यक्रम तय गरिएको उनकाे सचिवालयले जनाएकाे छ ।

त्यसैगरी बिहान १०:०० देखि ११:०० बजेसम्म होटल आइके, फिलिम हलचोकमा स्थानीयसँग छलफल तथा भेटघाट गर्नेछन् । सोही क्रममा पत्रकार महासंघ लगायतका पत्रकारहरूसँग १५ मिनेटको संक्षिप्त अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ ।

दिउँसो १२:२० बजे ज्वालामुखी गाउँपालिका कार्यालय पुग्ने सभामुख अर्यालले दिउँसो १:०० बजेबाट २:०० बजेसम्म बराहकाली माध्यमिक विद्यालयमा हुने मुख्य कार्यक्रममा सहभागिता जनाउनेछन् । कार्यक्रमपछि उहाँ २:३० बजे मैदीतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

यस भ्रमणलाई ज्वालामुखी गाउँपालिकाको सरसफाइ तथा विकास अभियानलाई थप ऊर्जा दिने अपेक्षा गरिएको छ ।