
धादिङ । प्रतिनिधिसभा निर्वाचन लक्षित कार्यक्रमअन्तर्गत धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार रमेश धमला ले आज नीलकण्ठ नगरपालिका–३ को साँघुटारबाट “मतदाता भेटघाट तथा घरदैलो अभियान” शुभारम्भ गरेका छन् ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा ३,०१६ जना र वडा नम्बर ९ मा ३,४९३ जना मतदाता रहेका छन् भने साविक मुरलीभञ्ज्याङ गाविस क्षेत्रसमेत समेटिएको सदरमुकामस्थित वडा नम्बर ३ मा ९,४३७ जना मतदाता रहेका छन् । उक्त वडा क्षेत्र नम्बर २ अन्तर्गतका ५१ वडामध्ये सबैभन्दा बढी मतदाता संख्या रहेको वडा हो ।
मतदाता भेटघाट कार्यक्रमबारे जानकारी दिँदै प्रचार–प्रसार समितिका संयोजक नवराज तिमल्सिना ले उम्मेदवार धमलाले घरदैलोमार्फत मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो प्रतिबद्धता र भावी योजना प्रस्तुत गर्ने बताए ।
अभियानलाई चरणबद्ध रूपमा क्षेत्रका विभिन्न वडामा विस्तार गरिने जनाइएको छ ।


