
धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर १ का नेकपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र पाण्डेले समृद्ध नेपाल निर्माण गर्ने जिम्मेवारी नेकपाको भएको दाबी गरेका छन्। समृद्धिको अभियानलाई परिणाममुखी ढंगले अगाडि बढाइने बताउँदै उनले “हावादारी गफ” ले देश अघि नबढ्ने टिप्पणी गरे।
बेनीघाट रोराङ गाउँपालिकामा मतदातासँग भेटघाट गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले आफू र शालिकराम जम्कट्टेल ले धादिङ–१ मा गरेका विकासका काम प्रत्यक्ष हेर्न चुनौती दिए। “विकास जादुको छडीले हुने होइन, तर रफ्तारमा अघि बढिरहेको छ,” उनले भने।
नेकपाका वरिष्ठ नेता समेत रहेका पाण्डेले सामाजिक सञ्जालमा चलाइने ‘बुस्टिङ’ र हल्लाले लोकतन्त्र नै धरापमा पर्न सक्ने चेतावनी दिए। देशको रक्षा र स्थायित्वका लागि तारा चिन्हका उम्मेदवारलाई मतदान गर्न उनले मतदातासँग आग्रह गरे।
मतदाता सचेत रहेको उल्लेख गर्दै उनले फागुन २१ गतेको मतदानमार्फत भ्रामक प्रचारलाई ‘बाइबाइ’ गर्दै नयाँ ढंगले समृद्ध नेपाल निर्माणमा नेकपा लाग्ने दाबी गरे।

