
धादिङबेसी । बागमती प्रदेशस्तरीय प्याब्सन लोक नृत्य प्रतियोगिता धादिङबेसीमा भव्य रूपमा सम्पन्न भएको छ।
निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) अन्तर्गतका विद्यालयहरूबीच आयोजना गरिएको प्रतियोगितामा बागमती प्रदेशका आठ जिल्लाबाट २३ वटा विद्यालयको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रम बागमती प्रदेश प्याब्सन अध्यक्ष मुरारी प्रकाश सन्जेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा केन्द्रीय प्याब्सनका उपाध्यक्ष किशोर गौतम रहेकाे थियो ।
कार्यक्रममा प्रदेश, केन्द्र तथा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपाली कला, संस्कृति तथा मौलिक लोक नृत्यको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागी विद्यार्थीहरूले विभिन्न जातजाति र समुदायका सांस्कृतिक पहिचान झल्किने लोक नृत्य प्रस्तुत गरेका थिए। ती प्रस्तुतीहरूले दर्शक तथा निर्णायकहरूको मन जित्दै नेपाली मौलिक संस्कृतिको विविधता उजागर गरेका थिए।
प्रतियोगिताको अन्तिम नतिजा अनुसार ईलेन मेमोरियल स्कुल, काठमाडौं प्रथम स्थान हासिल गर्न सफल भएको छ। प्राइभेट प्याराडाइस सेकेन्डरी स्कुल, सिन्धुपाल्चोक द्वितीय र एडभान्स एकेडेमी, धादिङबेसी तृतीय स्थानमा रहन सफल भए।
त्यसैगरी सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयहरूमा सक्सेस एकेडेमी (धादिङ), चिल्ड्रेन पार्क बोर्डिङ स्कुल (धादिङ), त्रिस्टार एकेडेमी (भक्तपुर), लिन इन्टरनेसनल (काभ्रे) तथा मित्र सी पाठशाला (भक्तपुर) रहेका छन्।
विजेता तथा सहभागी विद्यालयका विद्यार्थीहरूलाई प्रमुख अतिथि, सभापति तथा विशिष्ट अतिथिहरूले नगद, सिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए। प्रथम हुने विद्यालयलाई नगद १५ हजार रुपैयाँ, द्वितीयलाई १२ हजार रुपैयाँ र तृतीयलाई १० हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार यस प्रकारका प्रतियोगिताले विद्यार्थीहरूमा सांस्कृतिक चेतनाको विकास गर्नुका साथै नेपाली लोक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
