धादिङ–२ का उम्मेदवार रामबहादुर भण्डारी मतदाताको घरदैलोमा

Avatar photo
Dhadingpost
माघ २६, २०८२

धादिङ । नेकपा (माओवादी केन्द्र)बाट धादिङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर भण्डारीले आज नीलकण्ठ नगरपालिका–७, ८ र ९ का विभिन्न बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन्।

उम्मेदवार भण्डारीसँगै उक्त कार्यक्रममा क्षेत्रीय निर्वाचन परिचालन समिति संयोजक तथा केन्द्रीय सदस्य जगत सिंखडा, नेकपा धादिङका संयोजक तथा केन्द्रीय सदस्य मनराज भण्डारी, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार इन्दिरा ढुङ्गानालगायत पार्टीका नेताहरूको उल्लेख्य उपस्थिति थियो।

आज बिहान ससाह देउरालीबाट सुरु भएको मतदाता भेटघाट कार्यक्रम क्रमशः ज्यामिरे, रामकोट हटिया, टार गाउँ, मुरलीभञ्ज्याङ, ज्यामिरे हटिया, काफलपान हुँदै अघि बढेको थियो। त्यसपछि नीलकण्ठ नगरपालिका–७ अन्तर्गतका सुकौराबेसी, मस्र्याङछाप, तारुखर्क, हिटी हुँदै ताल्लबोसीसम्म कार्यक्रम सञ्चालन भएको जिल्ला संयोजक मनराज भण्डारीले जानकारी दिए।

स्थानीय बस्ती–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार भण्डारीले आफ्ना एजेन्डा, प्रतिबद्धता र विकास योजनाबारे जानकारी गराउँदै समर्थन मागिरहेको जनाइएको छ।