
धादिङ । प्रेस काउन्सिल नेपालले धादिङ सल्यानटारमा सम्पन्न १३औँ बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। अध्यक्ष डा. कुमार शर्मा आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले निर्वाचन आचारसंहिता, मिडिया अनुगमन तथा पत्रकारिता क्षेत्रको सुधारलाई प्राथमिकता दिने निर्णय गरेको हो ।
बैठकले निर्वाचन आचारसंहिता जागरण अभियान सुरु गर्ने निर्णय गरेको छ । साथै सातै प्रदेशका प्रमुख सहरमा निर्वाचन आचारसंहिता तथा मिडियासम्बन्धी कार्यक्रम सञ्चालन गरी यसको प्रभावकारिता बढाउने लक्ष्य लिइएको छ।
प्रेस काउन्सिलले आचारसंहितासम्बन्धी अध्ययन, अनुसन्धान र जनचेतनालाई प्राथमिकता दिने, पत्रकारहरूको मूल्याङ्कनका लागि रोस्टर अद्यावधिक गर्ने तथा पत्रपत्रिका वितरणसम्बन्धी मापदण्ड पुनरावलोकन गर्ने निर्णय गरेको छ। काउन्सिलद्वारा प्रदान गरिने विभिन्न पुरस्कारलाई थप पारदर्शी र प्रभावकारी बनाउने तथा सञ्चार माध्यमहरूको अभिलेख अद्यावधिक गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यसैगरी काउन्सिल अन्तर्गतका विभिन्न समिति तथा उपसमितिमा रहेका सदस्यहरूको जिम्मेवारी हेरफेर गर्ने, आन्तरिक नियमावली तथा कार्यविधिमा समय सापेक्ष सुधार गर्ने निर्णय गरिएको छ । ४० वर्षभन्दा बढी समयदेखि निरन्तर प्रकाशन हुँदै आएका पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ प्रदान गर्ने तथा धादिङ जिल्लामा सञ्चालित सञ्चार माध्यमहरूको अवस्था, व्यवसायिकता र आचारसंहिता पालनाको तथ्यपरक अनुगमन गरी जिम्मेवार पत्रकारिता प्रवर्द्धन गर्ने निर्णय पनि गरिएको छ ।
बैठकका क्रममा प्रेस काउन्सिलको टोलीले त्रिपुरासुन्दरी गाउँपालिकास्थित त्रिपुरासुन्दरी माइ भगवती मन्दिर, फटिक खम्बा, नृसिंहधाम तथा नीलकण्ठ नगरपालिकास्थित भैरवी माइ मन्दिर लगायत ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गरेको थियो । ती क्षेत्रहरूको संरक्षण, प्रवर्द्धन र व्यवस्थित विकासका लागि प्राथमिकताका साथ प्रचारप्रसार गर्न धादिङका सञ्चार माध्यमसँग आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ। तस्वीरः प्रेस काउन्सिल नेपालका सदस्य बालकृष्ण अधिकारीको फेसबुकबाट



