बुढीगण्डकी आयोजना अघि बढाउन महोत्सवमा हस्ताक्षर अभियान, उम्मेदवार भण्डारीद्वारा समर्थन

Avatar photo
Dhadingpost
माघ २२, २०८२

धादिङ । धादिङ उद्योग वाणिज्य संघको आयोजनामा माघ १५ गतेदेखि सञ्चालन भइरहेको दशौं धादिङ महोत्सवमा बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो अघि बढाउन दवाव दिने उद्देश्यले हस्ताक्षर अभियान सञ्चालन गरिएको छ ।

उक्त अभियानमा ऐक्यबद्धता जनाउँदै नेकपा धादिङबाट चुनावी मैदानमा रहेका उम्मेदवार रामबहादुर भण्डारी महोत्सव स्थल पुगेर हस्ताक्षर गरेका छन् । भण्डारीसँगै नेकपाका केन्द्रीय सदस्यद्वय मनराज भण्डारीइन्दिरा ढुङ्गाना पनि अभियानमा सहभागी भई हस्ताक्षर गरेका थिए ।

महोत्सव स्थलमा धादिङपोस्टसँग कुरा गर्दै उम्मेदवार भण्डारीले बुढीगण्डकी जलविद्युत् आयोजना पूरा गर्नु नेकपाको दायित्व रहेको उल्लेख गरे । उनले भने,
“बुढीगण्डकी आयोजना पूरा गर्ने जिम्मेवारी हाम्रो पार्टीको हो, हामी यो परियोजना अवश्य पूरा गर्छौं। उद्योग वाणिज्य संघले आयोजना अघि बढाउन दबाव दिने उद्देश्यले हस्ताक्षर अभियान चलाएको थाहा पाएपछि म पनि समर्थन जनाउन यहाँ आएको हुँ ।”

उद्योग वाणिज्य संघले उक्त परियोजनाले धादिङ जिल्लाको आर्थिक विकास, रोजगारी र राष्ट्रिय ऊर्जा सुरक्षामा ठूलो योगदान पुर्‍याउने भन्दै सरकारलाई छिटो निर्णय र काम अगाडि बढाउन दबाव दिने उद्देश्यले अभियान सुरु गरेको जनाएको छ।

महोत्सवमा चलिरहेको हस्ताक्षर अभियानप्रति सर्वसाधारणको पनि उल्लेखनीय सहभागिता देखिएको छ ।