
धादिङ । नेकपा धादिङ क्षेत्र नं. २ ले खनियाबास गाउँपालिकामा २५५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। बागमती प्रदेश समिति सदस्य भगवान थापा मगरको संयोजकत्वमा गठन गरिएको कमिटीले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने लक्ष्यसहित काम गर्नेछ।
खनियाबास–४ दर्खामा पालिका स्तरीय बैठकले नेकपा केन्द्रीय सदस्य तथा तारा चुनाव चिह्नका उम्मेदवार रामबहादुर भण्डारी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा बोल्दै उम्मेदवार भण्डारीले पार्टीका सबै कार्यकर्ता अब चुनाव केन्द्रित भएर लाग्नुपर्ने बताए।
भण्डारीले जनताको घर–घरमा पुगेर तारा चिन्हमा भोट माग्नुपर्ने र मतदातालाई मतदान गर्ने तरिका समेत बुझाउनुपर्नेमा जोड दिए। “यो चुनाव केवल पार्टीको मात्र होइन, जनताको भविष्यसँग जोडिएको चुनाव हो,” उनले भने।
कार्यक्रममा नेकपा धादिङका जिल्ला संयोजक मनराज भण्डारीले हल्ला र भ्रमको पछि नलाग्न कार्यकर्तालाई आग्रह गरे। उनले योग्य र सही उम्मेदवार तारा चिन्हका रामबहादुर भण्डारीलाई मतदान गर्न जनतालाई कतैबाट पनि अवरोध हुन नदिनु पार्टी कार्यकर्ताको जिम्मेवारी भएको बताए।
बैठकले खनियाबास गाउँपालिकाभर पार्टी संगठनलाई मजबुत बनाउँदै निर्वाचन अभियानलाई प्रभावकारी बनाउने निर्णय पनि गरेको छ।
