
धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा धादिङ जिल्ला इन्चार्ज पुष्पविक्रम मल्लले धादिङका दुबै निर्वाचन क्षेत्रमा नेकपाको जित सुनिश्चित रहेको दाबी गरेका छन्।
नेकपा नेत्रावती डबजोङ गाउँपालिकाको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता मल्लले पार्टीको तलसम्म मजबुत संगठन र उम्मेदवारहरूको व्यक्तित्वका कारण चुनावमा स्पष्ट जीत हासिल हुने विश्वास व्यक्त गरे।
उनले अहिले नेकपा जनताको विश्वास जित्न सफल भइसकेको उल्लेख गर्दै संगठित रूपमा चुनावी अभियानमा जुट्न कार्यकर्तालाई आग्रह गरे। नेकपाबाट धादिङ १ मा राजेन्द्र पाण्डे र २ मा रामबहादुर भण्डारी उम्मेदवार छन् ।
कार्यक्रममा धादिङ–२ का निर्वाचन परिचालन कमिटी संयोजक तथा केन्द्रीय सदस्य जगत सिंखडा, उम्मेदवार रामबहादुर भण्डारी र शंकर अधिकारीले समेत सम्बोधन गरेका थिए।
उनीहरूले यसपटक चुनाव चिन्ह नयाँ भएकाले मतदाता झुक्किन सक्ने सम्भावना रहेको भन्दै त्यसतर्फ विशेष ध्यान दिएर घर–घरमा पुगेर प्रचार–प्रसार गर्न कार्यकर्ताहरूलाई आग्रह गरे।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।
