धादिङ कांग्रेसमा शक्ति समीकरण फेरियो : रामनाथ र भीम एकै धारमा, रमेश धमला गगन पक्षमा

Avatar photo
Dhadingpost
माघ १, २०८२

धादिङ । नेपाली कांग्रेस अन्ततः विशेष महाधिवेशनको विवादसँगै औपचारिक रूपमा विभाजनको अवस्थामा पुगेको छ। विशेष महाधिवेशनलाई वैधानिक दाबी गर्दै महामन्त्री गगन थापाको नेतृत्वमा १३४ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन भएसँगै कांग्रेसको वैधानिकता अब निर्वाचन आयोगको निर्णयमा निर्भर बनेको छ।

कांग्रेस विभाजनको असर देशभर परिरहँदा यसको प्रभाव धादिङ जिल्लामा कस्तो पर्ला ? भन्ने प्रश्न चासोको विषय बनेको छ।

धादिङ कांग्रेसको आन्तरिक समीकरण

धादिङमा कांग्रेसको एक ठूलो समूह लामो समयदेखि शेखर कोइराला निकट रहँदै रामनाथ अधिकारीको नेतृत्वमा सक्रिय थियो भने देउवा निकट समूहको नेतृत्व भीमप्रसाद ढुङ्गाना गर्दै आएका थिए।

यसैबीच, शेखर कोइराला पक्षमै रहेका रमेश धमला केही समयअघि गगन थापा नेतृत्वको समूहमा खुलेर लागेका थिए। पार्टी विभाजन स्पष्ट भएसँगै धादिङमा रामनाथ अधिकारी र भीम ढुङ्गाना एउटै धारमा उभिँदा, रमेश धमला गगन पक्षकाे केन्द्रिय सदस्य बनेका छन् ।

वैधानिकताको लडाइँ निर्वाचन आयोगमा

पार्टीको केन्द्रीय कार्यकारिणी समिति र संसदीय दललाई निर्वाचन आयोगले मान्यता दिने व्यवस्था अनुसार अब कांग्रेसको वैधानिकता आयोगको निर्णयमा निर्भर रहनेछ।

देउवा–शेखर समूहले पार्टीको संगठन, संसदीय दल र संरचना आफ्नो पक्षमा रहेको दाबी गर्दै वैधानिकता आफूहरूले पाउने विश्वास व्यक्त गरेका छन्।
उता गगन थापा पक्षधरले भने विधिसम्मत रूपमा विशेष महाधिवेशन सम्पन्न भएको दाबी गर्दै आफूहरू नै आधिकारिक कांग्रेस भएको तर्क गरिरहेका छन्।

(समाचारमा केही त्रुटि हुनगएकाेमा सच्याईएकाे छ – सं.)