हर्कपुर माविकाे ५०औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

Avatar photo
Dhadingpost
पुस २५, २०८२

धादिङ । बेनिघाटरोराङ गाउँपालिका–४ मा रहेको हर्कपुर माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव तीनदिने विविध कार्यक्रमसहित भव्य समारोहबीच सम्पन्न भएको छ।

वार्षिकोत्सबको समापन समारोह बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा पालिका प्रमुख कृष्णबहादुर थपलिया (विवेक), स्थानीय जनप्रतिनिधि, शिक्षाविद्, अभिभावक, पूर्व विद्यार्थी तथा समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कठोर संघर्षबाट शिक्षाको उज्यालोतर्फ

हर्कपुर माध्यमिक विद्यालयको इतिहास हेर्दा यसको शैक्षिक यात्रा अत्यन्तै संघर्षपूर्ण र मर्माहक रहेको देखिन्छ। भौगोलिक विकटता, अशिक्षित समाज, दलित तथा जनजाति समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा वि.सं. २०१७ सालतिर विद्यालय स्थापना गर्नुपर्छ भन्ने चेतनाको विकास भएको पाइन्छ।

त्यतिबेलाका समाजसेवी तथा अगुवाहरू टेकनाथ पाण्डे, लक्ष्मिलाल श्रेष्ठ, पुष्पराज पाण्डे र लालबहादुर श्रेष्ठको सक्रियतामा खरले छाएको सानो पाठशाला निर्माण गरी धुलोमाटोमै बसेर पठनपाठन सुरु गरिएको थियो। शिक्षित जनशक्तिको अभावका कारण विद्यालय सञ्चालनमा निरन्तरता दिन कठिनाइ भएको इतिहास छ।

विद्यालयको क्रमिक विकास यात्रा

वि.सं. २०२८ सालतिर वडा नं. २, ३, ४ र ५ का स्थानीयहरूको सहकार्यमा पुनः पाठशाला स्थापना गरिए पनि स्थान विवाद र प्रतिस्पर्धाका कारण भवन पटक–पटक सार्नुपरेको थियो। अन्ततः वडा नं. ५ को इराङ घडेरी क्षेत्रमा संयुक्त भवन निर्माण गरिएको थियो।

यसैबीच, आफ्नै वडामा विद्यालय स्थापना गर्नुपर्ने दृढ इच्छासहित स्थानीय बुद्धिजीवी तथा अभिभावकहरूको पहलमा वि.सं. २०३२ सालमा ‘हर्कपुर प्रा.वि.’ को नामबाट विद्यालय स्वीकृत भई नियमित रूपमा सञ्चालनमा आयो।
वि.सं. २०३६ सालमा कक्षा ५ सम्म स्थायी पठनपाठन सुरु भयो।

स्थानीयको उत्साह र सहयोगमा वि.सं. २०३९ सालमा निजी स्रोतमा निम्न माध्यमिक तह सञ्चालन गरिए पनि आर्थिक अभावका कारण पुनः प्राथमिक तहमा सीमित हुनुपरेको थियो। निरन्तर प्रयासस्वरूप वि.सं. २०५५ सालमा निम्न माध्यमिक तह स्वीकृति प्राप्त गरी कक्षा ६, ७ र ८ सञ्चालन हुन थाल्यो।

चन्दा र सहयोगका भरमा सञ्चालन हुँदै आएको विद्यालयले
वि.सं. २०६२ सालमा पहिलो राहत दरबन्दी, वि.सं. २०६५ सालमा दोस्रो राहत दरबन्दी प्राप्त गरेपछि शैक्षिक गतिविधि थप व्यवस्थित हुँदै गयो।

यसै आधारमा विद्यालयले वि.सं. २०७० सालमा माध्यमिक तह सञ्चालनको अनुमति प्राप्त गरी हालसम्म निरन्तर रूपमा शिक्षाको उज्यालो फैलाउँदै आएको छ।

५०औँ वार्षिकोत्सबले विद्यालय परिवार, स्थानीय समुदाय र पूर्व विद्यार्थीहरूमा नयाँ उत्साह र प्रेरणा थपेको प्रधानाध्यापक सुरेन्द्र श्रेष्ठ बताउँछन् ।