रमेशप्रसाद आचार्य एमाले बागमती प्रदेश कमिटी उपसचिवमा चयन

Avatar photo
Dhadingpost
पुस २२, २०८२

धादिङ । धादिङको थाक्रे गाउँपालिका–९ निवासी रमेशप्रसाद आचार्यलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको उपसचिवको जिम्मेवारी दिइएको छ।

हालै सम्पन्न नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा जिल्लाबाट प्रतिनिधि बन्ने आकांक्षामा रहेका आचार्य प्रतिनिधि बन्न पाएनन्। यद्यपि पार्टीले उनको लामो राजनीतिक अनुभव, संगठनप्रतिको निष्ठा र योगदानको कदर गर्दै बागमती प्रदेश कमिटीको उपसचिव पदमा मनोनयन गरेको हो।

शैक्षिक तथा सांगठनिक अवस्था

व्यवस्थापन संकायमा स्नातकोत्तर तह उत्तीर्ण आचार्य हाल
🔹 नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्य
🔹 नेकपा (एमाले) केन्द्रीय युवा तथा खेलकुद विभाग सदस्य
को जिम्मेवारीमा रहेका छन्।

विद्यार्थी राजनीतिबाट राष्ट्रिय नेतृत्वसम्म

आचार्यले २०५३ सालदेखि अनेरास्ववियु हुँदै एमालेको मूलधारको राजनीतिमा सक्रिय भूमिका निभाउँदै आएका छन्। अनेरास्ववियु धादिङको अध्यक्ष, राष्ट्रिय परिषद् सदस्य, केन्द्रीय सचिवालय सदस्य हुँदै उनले राष्ट्रिय युवा संघ नेपालको महासचिवसम्मको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन्।

साथै, उनी एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिवका रूपमा २०६८ देखि २०७४ सम्म कार्यरत रहेका थिए।

पार्टी संगठन सुदृढीकरण, युवा परिचालन र राजनीतिक व्यवस्थापनमा अनुभवी आचार्यलाई बागमती प्रदेश कमिटीको उपसचिवको जिम्मेवारी दिइनुलाई एमालेभित्र युवा अनुभवी नेतृत्वलाई अघि बढाउने प्रयासका रूपमा हेरिएको छ।