
धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) ले बागमती प्रदेश स्तरीय लोक नृत्य प्रतियोगिता धादिङबेसीमा आयोजना गर्ने भएको छ। प्रतियोगिता फागुन २ गते हुने तय भएको छ।
प्याब्सन धादिङका सचिव भीमबहादुर श्रेष्ठ का अनुसार प्रतियोगितामा धादिङ जिल्लाबाट तीन उत्कृष्ट विद्यालय टोली सहभागी हुनेछन्। उक्त प्रतियोगिताका लागि धादिङबाट २०७९ सालमा प्रथम, २०८० सालमा द्वितीय र २०८१ सालमा पुनः प्रथम स्थान हासिल गर्न सफल एड्भान्स एकेडेमी, चिल्ड्रेनपार्क बोर्डिङ र सक्सेज एकेडेमीले भाग लिने छन् ।
प्याब्सनले हरेक वर्ष पालिका स्तरीय, जिल्लास्तरीय हुँदै प्रदेश स्तरीय रूपमा लोक नृत्य प्रतियोगिता सञ्चालन गर्दै आएको छ। हाल प्रदेशका विभिन्न जिल्लाहरूमा पालिका तथा जिल्लास्तरीय छनोट कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
लोक संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै प्याब्सनले २०७९ सालदेखि लोक नृत्य प्रतियोगिता सुरु गरेको हो। यस वर्ष आयोजना हुन लागेको प्रतियोगिता चौथो संस्करण हो।
आगामी प्रदेश स्तरीय प्रतियोगितालाई सफल बनाउन प्याब्सन धादिङ अहिलेबाटै तयारीमा जुटिसकेको प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टले जानकारी दिनुभएको छ।
